
आज सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
आज सोमबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।
‘आज बस्ने भनेको बैठक स्थगित भएको सूचना आएको छ । अर्को बैठक कहिले बस्छ भन्ने कुनै जानकारी छैन’, मन्त्रिपरिषद् स्रोतले भन्यो ।
सोमबार मन्त्रिपरिषद् बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्दैछन् । उनीहरूबीच बालुवाटारमै छलफल हुनेछ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नरको विषय पेचिलो बन्दै गएको छ । गभर्नर कांग्रेसले पाउने सहमति भइसकेको भनेर देउवाले सार्वजनिक रूपमै भनेपनि अहिलेसम्म सरकारले नियुक्त गर्न सकेको छैन ।
विवादकै कारण राष्ट्र बैंकले एक महिनाभन्दा बढी समयदेखि गभर्नर पाएको छैन । सामान्यतया बहालवाला गभर्नरले अवकाश पाउने एक महिना अगाडि नै नयाँ गभर्नरको टुंगो लगाउनुपर्नेमा रिक्त रहेकै करिब डेढ महिना भइसकेको छ ।
गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते अवकाशमा गएका थिए ।