
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव र उपाध्यक्ष शोभा कुमारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ३४ लाख ३९ हजार १८९ रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतको सुनिश्चितता र वार्षिक योजनासमेत स्वीकृत नगरी भवन निर्माणको डीपीआरलाई खण्डीकरण गरी अनियमितता गरेको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
स्थलगत रूपमा नापजाँच गरी पेश भएको प्राविधिक प्रतिवेदनअनुसार पुरानो निर्मित संरचना त्रुटिपूर्ण देखिएकाले सो संरचनामा थप कार्य गर्न उपयुक्त नहुने अवस्था रहेको भन्ने व्यहोरा खुली आएको अभियोगपत्रमा उल्लेख छ ।
गाउँपालिकाले उक्त संरचनामा थप निर्माण गर्न नमिल्ने भई उक्त संरचना उपयोगविहीन हुन गएकोले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना र दुरुपयोग हुन गई भ्रष्टाचारजन्य कार्य भएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, तत्कालीन वडाध्यक्ष मदन यादव, मनोजकुमार यादव, योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादवसहितका विरुद्ध मुद्दा दायर गरिएको हो ।
साथै भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोशीलादेवी यादव समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।