
पर्साको पोखरियाबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरिया–४ निवासी १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम विश्वास कुमार राम र १९ वर्षीय कृष्ण महतो नुनिया रहेका छन्।
जेठ ८ गते राति ११ बजेतिर पोखरिया नगरपालिका–९ बाट एक विवाह समारोहमा गएका बेलामा तासपुर, वीरगञ्ज–२१ निवासी ५४ वर्षीय राजदेव महतोको नाममा दर्ता रहेको ना ५४ प ३८७७ नम्बरको कालो र रातो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो।
पीडितले इलाका प्रहरी कार्यालय, पोखरियामा मोटरसाइकल खोजतलासका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
सो क्रममा जेठ १० गते पोखरिया नगरपालिका–४ स्थित सडकखण्डबाट सो मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानपछि मोटरसाइकल चोरीमा तीन जना व्यक्तिहरूको संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
उनीहरूलाई चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।