
झापा र इलामबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।
उनीहरूलाई झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको विराटनगरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका- ५ का २५ वर्षीय रूपक गड्तौला र शिवसताक्षी नगरपालिका- ९ का २५ वर्षीय बिरहाङ लेछर्वो लिम्बू छन् ।
मे ५ प ९६४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।
यस्तै, प्रहरी चौकी बाघखोरबाट खटिएको टोलीले दमक नगरपालिका- ३ का २९ वर्षीय किरण राई र भारत बिहारका ३६ वर्षीय मनीषकुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
त्यसैगरी इलामको चुलाचुली गाउँपालिका- ४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले प्र १-०१-०१३ प ५४८३ नम्बरको मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय अन्जन राईलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ८५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।