२८ जेठ २०८३, बिहीबार

धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’को प्रधानमन्त्री ओलीले गरे शिलान्यास

जेठ १४, २०८२
काभ्रेपलाञ्चोक
धुलिखेल अस्पतालको ‘ट्रमा एन्ड इमर्जेन्सी सेन्टर’को प्रधानमन्त्री ओलीले गरे शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एन्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गरेका छन् ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो ।

उक्त अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुई करोड ९६ लाख यान अनुदान दिनेछ ।

सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुईपक्षीय हस्ताक्षर भएको थियो ।

यही जेठ २ गते अर्थ मन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इक्युना अकिकोबीच उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर भएको थियो ।

आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट तीन अर्ब दुई करोड ९६ करोड यानको अनुदान सहयोगमा सन् २०२३ मा हस्ताक्षर भइसके पनि मूल्यवृद्धि र अन्य कारणले आर्थिक अभाव भएपछि अहिले थप अनुदान उपलब्ध गराइएको जनाइएको छ ।

निर्माण सम्झौतामा जापान सरकारले ६० प्रतिशत भवनमा र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने उल्लेख छ ।

सेन्टरमा पार्किङ, आईसीयू, ३ वटा अप्रेसन थिएटर, एचडीयू, ल्याब, फार्मेसी, फोहोर व्यवस्थापनलगायत आवश्यक सबै सेवाहरू उपलब्ध हुने छ ।

यस्तै सेन्टर सञ्चालनका लागि ३ तला बेसमेन्टसहित ५ तलाको भवन निर्माण हुने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदनमा उल्लेख छ ।

शिलान्यास कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, संघीय सांसद गोकुलप्रसाद बास्कोटालगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्