
लामो संवादहीनतापछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । १४ औं महाधिवेशनमा एउटै टिमबाट जिते पनि पछिल्लो एक वर्षयता दुई नेताबीच औपचारिक संवाद नै भएको थिएन । यसलाई चिर्दै शुक्रबार कोइराला र थापाबीच भेटवार्ता भएको हो ।
शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दुई नेताबीच छलफल भएको जानकारी दिए । ‘महामन्त्री आज बिहान छलफलका लागि आउनुभएको थियो,’ थपलियाले भने, ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा आधा घण्टाजति छलफल भयो ।’
कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए ।
महामन्त्री थापा निकट स्रोतले क्रियाशील सदस्यता र अनुशासन समितिको प्राविधिक विषयमा छलफल भएको जानकारी दियो । ‘क्रियाशील सदस्यता र अनुशासन समितिको प्राविधिक विषयमा शेखर दाइले बुझ्न खोज्नुभएको रहेछ । यसैका लागि महामन्त्री उहाँलाई भेट्न पुग्नुभएको हो,’ गगन निकट स्रोतले भन्यो, ‘उहाँहरूबीच आधा घण्टाजति कुराकानी भयो । तर अरु राजनीतिक विषयमा कुराकानी भएन ।’
गत महाधिवेशनमा एउटै टिममा रहे पनि पछिल्लो एक वर्षयता दुवैबीचको संवाद टुटेको थियो । एक अर्काबीच दुवैले खरो टिप्पणी गर्दै आएका थिए । तर गगन सरकारका काम गराइसँग असन्तुष्ट भइरहेका बेला शेखरसँग संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शेखरले मात्रै सरकारको विरोध गर्दै आएको थिए । तर थापा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बहिष्कार गर्ने स्थितिसम्म पुगेका छन् । सरकारको काम गराइलाई हेर्ने दृष्टिकोणमा दुवै नेताको मत समान देखिन थालेको छ ।
दोस्रो तहका नेताले १५ औं महाधिवेशनमा पनि दुई नेतालाई सँगै उभ्याउने गरी केही समययता छलफलको प्रयत्न गराउँदै आएका छन् ।