
राप्रपा सांसद दीपककुमार सिंह पक्राउ परेका छन् ।
उनलाई प्रहरीले आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं परिसरबाटै पक्राउ गरेको हो ।
सांसद सिंहलाई केहीबेर अगाडि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकान्तरलाई जानकारी दिए ।
दिउँसोदेखि नै निगरानीमा राखिएको र साँझ परिसर अगाडिबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सिंह पनि पक्राउ परेपछि आजै पक्राउ पर्नेको संख्या ८ पुगेको छ।
पक्राउ पर्नेहरूमा सिंहका साथै राप्रपा नेपालका अध्यक्ष कमल थापा, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले परिसर पुगेका सांसद सिंहलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।
'राप्रपा सांसद माननीय दीपक सिंहलाई प्रहरी परिसरमा काठमाडौं रहेका कमल थापालाई भेट्न परिसर भित्र नै पुग्दा नै पक्राउ गरेको छ । राज्य आतंक बन्द गर,' उनले सामाजिक सञ्जालमा लेखेका छन् ।