२२ असार २०८३, सोमबार
राजावादी बैठकमा होहल्ला

राजावादीको बैठकमा तनाब, घोषणा भएन दोस्रो चरणको आन्दोलन

जेठ २१, २०८२
काठमाडौं
राजावादीको बैठकमा तनाब, घोषणा भएन दोस्रो चरणको आन्दोलन

राजावादी समूहको बैठकमा तनाबको स्थिति आएपछि दोस्रो चरणको आन्दोलन नै घोषणा हुन सकेन ।

बुधबार काठमाडौंको एक होटलमा भएको बैठकमा राजावादी समूहबीच नै तनाब हुँदा बैठकले आन्दोलनको घोषणा गर्न नसकेको हो । 

आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले राखेको बैठकमा विभिन्न समूहबीच तनाब भएको हो । यो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएनन् । 

सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता सहभागी भए पनि होहल्ला भएपछि उनीहरूले बोल्ने परिस्थिति नै बनेन । सुवेदी र थापाले समेत होहल्लालाई शान्त बनाउन सकेनन् ।

होहल्ला भएर कार्यक्रम नै अगाडि नबढेपछि सुवेदीले अर्को दिन अझै राम्रा कार्यक्रम ल्याउने भन्दै बैठक स्थगित गरे । 

‘अहिले हुन नसके पनि पछाडि अझै राम्रो कार्यक्रम लिएर आउँछु’ बैठक विसर्जन गर्दै उनले भने । 

राजावादी आन्दोलनको मुख्य दल राप्रपा नै सहभागी नभएपछि अन्य विभिन्न घटकले होहल्ला गरेका हुन् ।

संसद् बैठकका कारण लिङ्‍देन उपस्थित हुन नसकेको भनेर बैठकको शुरूमै जानकारी गराइएको थियो। त्यसका बाबजुद पनि धेरै नेताहरूले असन्तुष्टि जनाएका थिए ।

त्यसपछि युवाहरूले ‘बूढाहरूबाट केही हुँदैन’ भन्दै  छुट्टै बैठक गरिरहेको बताइएको छ।  

यसअघि उनीहरूले पाँच दिनसम्म काठमाडौंमा आन्दोलन गरेका थिए । आन्दोलनमा उल्लेख्य जनसहभागिता नभएपछि मंगलबार पहिलो चरणको आन्दोलन समाप्त गरिएको थियो ।

बुधबार आन्दोलनको समीक्षा र अर्को चरणको आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाइएको थियो । तर, बैठकमा लफडा भएपछि न समीक्षा भयो न अर्को आन्दोलनको घोषणा नै । 
 

 

salt training

कमेन्ट गर्नुहोस्