
काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ढाडको बाङ्गोपनासँग सम्बन्धित स्कोलियोसिसबारे जनचेतनामूलक अन्तर्क्रिया भएको छ ।
अस्पतालमा आयोजित सचेतनामूलक कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी, तिनका आफन्त तथा अस्पतालका डाक्टर, नर्स लगायतको उपस्थिति थियो ।
संसारभर जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाइन्छ । ग्राण्डी अस्पतालले पनि हरेक वर्ष यस विषयमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरे पनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए ।

जन्मजातबाहेक नशा सम्बन्धी समस्याका कारण पनि उक्त समस्या देखिने गरेको डा. बिजुक्छेको भनाइ छ ।
स्कोलियोसिसको समस्या छोराको तुलनामा छोरीमा बढी मात्रामा हुने गरेको चिकित्सकहरू बताउँछन् । एक जना छोरामा देखियो भने सात जना छोरीमा यो समस्या देखिने सम्भावना रहेको डा. बिजुक्छेले बताए ।
स्कोलियोसिसको समस्या घरका बुबाआमा, स्कूलका शिक्षक तथा साथीहरूले बढी मात्रामा पत्ता लगाउने गरेका छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए ।
डा. बिजुक्छेले मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सो र मुटुको कामलाई असर पुर्याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए ।

नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया शुरू गरिएको थियो । कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफन्तले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीडा, उपचारपश्चात आफ्नो जीवनमा आएको परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।