
गत बिहीवार राति पूर्वी भेगबाट प्रवेश गरेको मनसुन अहिले केही निष्क्रिय रहेको छ । शुरूआतमै सक्रिय भएको मनसुन अहिले कोशी प्रदेशमा मात्रै सीमित छ । मनसुन पुन: सक्रिय हुन र अरू प्रदेशमा फैलिन केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।
जसका कारण अब केही दिन देशभर ठूलो पानी पर्ने सम्भावना छैन । केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि भेलबाढी आउनेगरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाल भित्रिएको एकसाता बितिसक्न लाग्दा पनि मनसुन कोशी प्रदेशबाट विस्तार हुन सकेको छैन ।
आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा छिटपुट वर्षा भएको छ । दिउँसो कोशी प्रदेशका केही स्थान, मधेश र बागमतीलगायत बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशीका थोरै स्थान तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।