
क्रिस्टियानो रोनाल्डोले गर्न बाँकी थोरै काम छन्, त्यसैमध्ये एक जर्मनीलाई हराउनु पनि थियो । तर, अब त्यो काम पनि सकिएको छ । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले २५ वर्षपछि जर्मनीलाई हराएको छ ।
४० वर्षीय रोनाल्डोले गोल गरेपछि नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगलले जर्मनीलाई २–१ ले हराएको हो । आफ्नो १३७औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका रोनाल्डोले पोर्चुगललाई ऐतिहासिक जीत दिलाए । यो रोनाल्डोको २२० खेलमा १३७ औं अन्तर्राष्ट्रिय गोल थियो । जितसँगै पोर्चुगल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
पोर्चुगलले जर्मनीको भूमिमा पछिल्लोपल्ट सन् १९८५ को अक्टोबरमा भएको विश्वकप छनोट खेलमा जीत हासिल गरेको थियो । पोर्चुगलले अन्तिम पटक युरो २००० मा जर्मनीलाई हराएको थियो ।
२२० औं खेल खेल्दै कीर्तिमान कायम गरेका रोनाल्डो जर्मनीविरुद्ध गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन् । यसअघि उनले जर्मनीविरुद्ध खेलेका पाँचै खेलमा पराजय भोगेका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, फ्लोरिन रिट्जले ४८औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिले अग्रता दिलाएका थिए । घरेलु मैदानमा जर्मनीले उक्त अग्रता कायम राख्न सकेन ।
फ्रान्सिस्को कोनसेइडोले ६३औं मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि नै रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे ।
अब अर्को सेमिफाइनलमा बिहीबार फ्रान्स र स्पेनबीच स्टुटगार्टमा प्रतिस्पर्धा हुनेछ।