
जापान पूर्वीएसियामा पर्ने टापुहरूको देश हो । नेपालीका लागि जापान नौलो होइन । हरेक शहर र गाउँबाट कोही न कोही नेपाली जापान गएको छ । अधिकांश विद्यार्थी र केही कामदारसमेत जापान पुगेका छन् । प्रचुर सम्भावना र आशै आशाले भरिएको राष्ट्र हो जापान । आधुनिक शिक्षा प्रणाली, प्रविधिमा अग्रसरता र पढ्दै कमाउन सक्ने सम्भावनाले धेरै विद्यार्थीले जापान रोज्ने गर्छन् ।
सम्भावना र आशाहरूले जापानका हरेक शहरहरू भरिपूर्ण छन् । शहरको उज्यालो हेर्दा लाग्छ यसले भविष्यलाई त्यसै पनि उज्यालो बनाइदिन्छ । यहाँका शहरहरूको दृष्टि जति उज्यालो छ, त्योभन्दा निकै डरलाग्दो यसभित्रको अन्धकार पनि छ । भित्रको वास्तविक चित्र भने केही फरक छ ।
यो नितान्त मेरो व्यक्तिगत अनुभवमा आधारित छ । २०८१ वैशाख २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ हुँदा मलाई धेरै पीडा भएको थियो । देश छोड्नुपर्ने बाध्यात्मक पीडा मसँग थियो नै । त्यो पीडामाथि थप पीडा वैशाख २६ गते माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनले थपेको थियो ।
शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाबाट आशीर्वाद थाप्ने दिनमा म देश छोडेर जाँदै थिएँ । त्योभन्दा पनि दुःखको कुरा मलाई बिदाइ गर्न विमानस्थलमा आमा थिइनन् । केवल बुबा मात्रै हुनुहुन्थ्यो ।
भन्छन्, मानिस सबैभन्दा बढी र लामो समयसम्म रुन्छ भने त्यो जन्मेको समयमा हो । जन्मको बेला म कति रोएकी थिएँ ? त्यो त मलाई थाहा भएन तर, त्यसपश्चात सायद कहिल्यै सबैभन्दा धेरै रोएको र आँखाबाट आशु खेसेका छ भने त्यो वैशाख २६ गते नै हो । यद्यपि विदेशको बसाइँमा कयौँ रात रोएरै कटाएँ, कयौँ रात कल्पना र सम्झनामा आँशु झारेरै कटाएँ । अझै कति दुःख भोग्नुपर्ने हो त्यो बाँकी नै छ ।
जापानमा नेपाली विद्यार्थीहरूले भाषा, संस्कृति, रहनसहनको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा सुनेको मात्रै थिएँ । जब आफू जापान आएँ सबै कुरा छर्लङ्गै भयो । यसलाई सामान्य समस्या भन्न सकिन्छ । किनभने यो नेपाल होइन र यहाँ आउनेहरूलाई यहाँको रहनसहन, भाषा र संस्कृतिबारे थाहा नभएको पनि होइन । तर, फरक के भइदिन्छ भने आर्थिक बोझको भारी बोक्दै जापान आएपछि कहिल्यै आनन्दको निन्द्रा भने पर्दो रहेनछ ।
मलाई लग्थ्यो, नेपालमा केही गर्न सकिएन, ऋण लिएर भए पनि जापान गएपछि आर्थिक रूपमा सम्पन्न भएर भविष्यको चिन्ता त लिनुपर्दैन । आखिर सबै भविष्यकै लागि भाग दौड गरिरहेकै हुन्छन् । तर जुन भविष्यको लागि जापान आएकी थिएँ त्यही भविष्यलाई लिएर म स्तब्ध हुन्छु । जापान भविष्यभन्दा पनि पढ्ने र पैसा कमाउने शहर मात्रै हो भविष्य बनाउने होइन ।
एक वर्ष पूरा भएर दुई वर्ष हुँदैछ जापान आएको । अबको दुई वर्षपछि मेरो पढाइ सकिन्छ । त्यसपछि के हुन्छ ? भन्ने कुराले म चिन्तित छु । पढाइको खर्च र यहाँको खर्च अनि आउँदा लिएको ऋण तिर्नमै ठिक्क छु । यहाँ जहिलेसम्म दिनरात खट्न सक्यो पैसा आउँछ । दिनरात खट्न बन्द भएको दिन पैसा पनि बन्द हुन्छ ।
सबैभन्दा डरलाग्दो कुरा त मलाई के लाग्छ भन्दा म भोलिको दिनमा के गर्छु ? मसँग सायद केही लाख रुपैयाँ होला । तर, के गर्ने ? कुनै विषयमा विज्ञता हुनेछैन । यसरी दिनरात कहिले होटेलमा, कहिले पसलहरूमा, कहिले सरसफाइ त कहिले के हो के ? यस्तो कामले मलाई के को विज्ञता दिन्छ ? मलाई के आउँछ ? नेपालमा फर्केपछि मैले के गर्ने ? लगायत प्रश्नहरू झनै डरलाग्दा छन् ।
अबको केही वर्षसम्म चाहेर पनि घरपरिवार र आफन्तजनलाई भेट्न सक्दिनँ भन्ने कुरा स्वीकारेर विमानस्थलबाट बिदाइ भएको स्मरण छ । तर, सबै कुरा थाहाँ पाउँदा पाउँदै पनि दिनहुँ जापानको बसाइ निकै गाह्रो हुँदै जाने रहेछ । एकातिर देश, घरपरिवार, साथीभाइ तथा आफन्तजनबाट टाँढिएको दुःख र अर्कोतर्फ रहनसहन र काँधमा बोकिएको ऋणको भारी ।
आर्थिक बोझ र मानसिक तनावको सामना गरिरहेकी छु । मभन्दा निकै कम उमेका पनि दिनहुँ जापान आइरहेको देख्छु । भर्खरै १८ वर्ष लागेका भाइ बहिनीहरू पनि विदेश भन्दै जापान आइरहेका छन् । शहर कस्तो हुन्छ भन्नेसमेत नदेखेकाहरू पनि भाषा पढेर जापान आइरहेका छन् । तर ती उमेर नपुग्दै जापान आउने तथा काँचो उमेरमै जापान आउनेहरू कोठामा झुन्डिएको खबर पनि सुनिन्छ । यसले झन् मनोबल घटाउँछ ।
भाषा र संस्कृतिको अवरोध
जापान पुगेपछि मैले पहिलो झमेला भाषा रहेछ भन्ने कुरा थाहा पाएँ । सुन्न त सुनेकी थिएँ तर, जापान आउने विद्यार्थीहरूले भाषाको समस्या भोग्ने रहेछन् भन्ने कुरा आफैंले भोगेपछि थाहा पाए । यद्यपि धेरै जना जापानी भाषा विद्यालयमा भर्ना हुन्छन् । तर, छोटो समयमा धाराप्रवाह रूपमा बोल्न सक्नु सम्भव हुँदैन ।
भाषागत समस्याले सबैभन्दा ठुलो समस्या पढाइमा हुन्छ । किनभने हामीले जापानमा यहाँकै भाषामा पढ्नुपर्ने हुन्छ । पढाइ मात्रै होइन, काम खोज्न र सामाजिक रूपमा घुलमिल हुन पनि भाषा निकै चुनौतीपूर्ण भइदिन्छ ।
जापानी संस्कार, शिष्टाचार, र कार्यशैलीमा घुलमिल हुन मलाई निकै समय लागिरहेको छ । यो नेपाली विद्यार्थी सबैले भोग्ने कुरा हो ।
आकर्षक देखिने जापानको आर्थिक पक्ष
जापान आउनेहरूको पहिले सोच हुन्छ पढ्दै धेरै पैसा कमाउने । तर, नेपालमा हामीले गर्ने हिसाबभन्दा फरक यहाँको हिसाब आउने रहेछ । यहाँ आउने विद्यार्थीहरू अधिकांश ऋण लिएरै आउने हुन्छन् । ऋणले विद्यार्थीहरूको भविष्यलाई उज्जवल र अझै राम्रो बनाउने आशा बोकिएको हुन्छ । तर, त्यही आशाले नेपाली विद्यार्थीलाई क्षमताभन्दा बढी काम गर्न बाध्य बनाउँछ ।
जापानको महँगो जीवनशैली र पढाइ खर्चले हामीजस्ता विद्यार्थीलाई निरन्तर काम गर्न बाध्य बनाउँछ । यहाँको नियमअनुसार विदेशी विद्यार्थीहरूले हप्ताको २८ घण्टा मात्र काम गर्न पाउँछन् । यो २८ घण्टा काम गरेर जति रकम आउँछ त्यसले यहाँको बसाइ खर्च धान्नै ठिक्क हुन्छ । त्यसबाहेक पढाइ खर्च पनि त्यही हप्ताको २८ घण्टा काम गरेर धान्छु भन्नु मूर्खता मात्रै हो । अब जापान आउँदा घरकाले विभिन्न बैङ्क तथा सहकारीबाट ब्याजमा लिएको ऋण तिर्छु भनेर सोच्न पनि सकिँदैन ।
त्यसैले यहाँ तोकिएको समयभन्दा अतिरिक्त काम गर्नै पर्छ । नियम उल्लङ्घन गर्दै हप्तामा तोकिएको कामभन्दा ३/४ गुणा बढी काम गरिरहेकी छु । म मात्रै होइन सबैले तोकेभन्दा अत्यधिक काम गर्ने गर्दछन् । अब यसलाई अत्यधिक काम गर्न बाध्य छन् भन्दा फरक पर्दैन होला ।
तोकिएको समयभन्दा बढी काम गर्नु अथवा झुकाएर बढी काम गर्नु राम्रो नराम्रो आफ्नो ठाउँमा होला । तर, यसले विद्यार्थीको स्वास्थ्य अवस्थामा पक्कै पनि प्रभाव पार्छ । सानैबाट दुख गरेरै हुर्केको भएर मलाई धेरै लामो समयसम्म अत्यधिक काम गर्न गाह्रो भएन । सुरुवाती महिनाहरूमा सहनै सकिँदैन थियो भने, कसैलाई भन्न पनि सक्दिनँ थिएँ ।
शोषण
जापानमा पनि शोषण हुन्छ होला र जस्तो लाग्छ होला । तर यहाँ पनि शोषण हुन्छ । यहाँ आइसकेपछि हामीले गर्ने भनेको विशेषगरी रेस्टुरेन्ट, कारखाना तथा सर–सरसफाइजस्ता कामहरू हो । किनभने अन्य कामहरू पाउन निकै गाह्रो हुन्छ तर, यी कामहरू पाउन सजिलो हुन्छ । तर, यस्ता कामहरूमा बढी खटिनुपर्छ । पारिश्रमिक निकै कम दिन्छन् । यसका साथै यस्ता काममा भाषाको समस्या हुने वित्तिकै बढी काम गराउने र काममा बढी कडाइ समेत गर्ने गर्दछन् ।
कानुनी जानकारी नहुनाले डरका कारण आफूमाथि शोषण हुँदा पनि बोल्न सकिँदैन । यो वास्तविकता हो । जोकसैले पनि सबै कुरा राम्रो छ भनेर भन्ने गर्दछ उसले यस्ता शोषणका विषय लुकाएको हुन्छ । यहाँसम्म पनि आफ्नै आँखाले देखेकी छु कि, कतिपय काम गर्ने ठाउँमा न्यून पारिश्रमिक दिनुका साथै निःशुल्क ओभरटाइम गर्न बाध्य पार्छन् । तर यस्ता विषयहरू बाहिर आउँदैनन् । किनभने यहाँको कानुन विपरीत हप्ताको २८ घण्टाभन्दा बढी काम गर्नुपर्ने बाध्यता हुन्छ ।
जापानको अस्त व्यस्त जीवन, एक्लोपन, आर्थिक र शैक्षिक तनावले गर्दा विद्यार्थीहरू मानसिक समस्या भोगिरहेका हुन्छन् । डिप्रेसन र आत्मग्लानिजस्ता समस्या देखा पर्नु सामान्य भइरहेको देखिन्छ । मानसिक स्वास्थ्यप्रति चेतना र सहयोगको कमीले गर्दा सबै चुपचाप नै हुन्छन् ।
पढाइमा चुनौती
यहाँ काम र पढाइको मिलन बिरलै हुन्छ । काम र पढाइलाई मिलाउनमै यहाँका दिनहरू जान्छन् । कठिन हुन्छ समय मिलाउन । सायद कसैले पैसा माग्यो भने दिन सकिन्छ होला तर, समय माग्दा दिन सकिन्न होला जस्तो लाग्छ ।
एक मात्रै कामले धान्न नसकेर दुई काम गर्नुपर्ने बाध्यता छ । एकातिर कामको हतार हुन्छ अर्कोतिर पढाइका लागि कक्षा छुट्ने समस्या हुन्छ । नेपालमा हुँदा जहिल्यै मन लाग्यो क्पाम्पस जाने मन नलागे नजानेजस्तो यहाँ हुँदैन । अनिवार्य रूपमा पढ्न कक्षाकोठामा जानै पर्ने हुन्छ ।
कामको चाप यतिसम्म हुन्छ किन कतिपय साथीहरू दिइएको गृहकार्य नगरेर परीक्षासमेत नदिने अवस्थामा पुगेको देखेकी छु । यसका साथै कतिपय विद्यार्थी विद्यालय छोड्न बाध्य भएको समेत यही आएर सुनेँ । यस्तो परिस्थितिले विद्यार्थीको भविष्य मात्र नभई यहाँको बसाइसमेत सङ्कटमा पर्न जान्छ । जे होस अहिलेसम्म मैले यहाँसम्मको परिस्थितिको सामना गर्दै आएकी छु ।
भन्छन् नि जीवन सबै प्रकारका भोगाइहरूको सँगालो हो र जीवनको भोगाइ नै जन्मको अर्थ हो । जापान पनि मेरा लागि सङ्घर्ष, हिम्मत र आशाको मिश्रणले भरिएको शहर हो । सुनौलो भविष्यको सपना देखेर जापान जाने धेरै नेपाली युवाहरूलाई यथार्थको पनि सामना गर्नुपर्छ भन्ने थाहा हुँदैन । त्यसैले विदेशको बसाइ बाहिर देखेजस्तो रंगिचिंगी हुँदैन ।