११ साउन २०८३, सोमबार

सरकारले व्यापार होइन, नियमन गर्ने हो- शेरबहादुर देउवा

जेठ २७, २०८२
काठमाडौं
सरकारले व्यापार होइन, नियमन गर्ने हो- शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले मंगलबार आयोजना गरेको अन्तर्क्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । 

सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताए । यसो गर्दा चोरी तस्करी नियन्त्रण हुने देउवाको भनाइ छ । 

फरक प्रसङ्गमा उनले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औंल्याए । 

कार्यक्रममा महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताए । 

उनले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत् काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति श्रृंखलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताए । साथै, उनले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्