०७ असार २०८३, आइतबार
न्यायाधीशमाथि दुर्व्यवहार

अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै कालो मसी प्रहार

जेठ २९, २०८२
काठमाडौं
अफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि इजलासमै कालो मसी प्रहार

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुसी प्रसाद थारूलाई कालो मसी छ्यापिएको छ ।

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला) नेतृत्वका कार्यकर्ताले बिहीबार न्यायाधीश थारूमाथि इजलासमै मसी छ्यापेका हुन् ।

न्यायाधीशलाई कालो मसी छ्याप्ने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी गौतम मिश्रले लोकान्तरलाई जानकारी दिए ।

सेवाग्राहीको भेषमा नेकपा बहुमतका कार्यकर्ता अदालत प्रवेश गरेर न्यायाधीशको इजलासमा पुगेका थिए ।

न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले जेठ १४  गते आलमलाई सफाइ दिने निर्णय गरेको थियो । 
 
२०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटको घटनामा घाइते भएकालाई इँटा भट्टामा हालेर जलाएको आरोपमा आलम पक्राउ परेका थिए । 

जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । 

सफाइ दिएलगत्तै रिहा भएका आलम मष्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जन विवादमा परेका थिए । उनीहरूविरुद्ध न्याय परिषद्‌मा उजुरी समेत परेको छ ।

कमेन्ट गर्नुहोस्