
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल बिहीबार बेलायत र कतारका लागि प्रस्थान गरेका छन्। दस दिने भ्रमणका क्रममा महासचिव पोखरेलले बेलायत र कतारमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको छ।
बेलायत भ्रमणको क्रममा उनले प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको अधिवेशन उद्घाटन तथा सम्बोधन गर्ने छन्। साथै, कार्ल मार्क्सको समाधिमा पुष्प अर्पण गर्ने, मोन्टफर्ट विश्वविद्यालयको अवलोकन गर्ने र बेलायतमा रहेका नेपाली जनसंगठन तथा संघ–संस्थाहरूसँग भेटघाट र अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ।
महासचिव पोखरेलले बेलायतको भ्रमणपश्चात कतार प्रस्थान गर्ने छन्। कतारमा उनले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको समस्या, अवस्था र सम्भावनाबारे छलफल र विमर्श गर्नुका साथै श्रमिक समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सुजिता शाक्य सहभागी छन्। यस्तै, महासचिव पोखरेलको बेलायत भ्रमणका क्रममा युरोप ईञ्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा पनि सहभागी हुनेछन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव पोखरेललाई पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, कार्यालय सचिव डा. भीष्म अधिकारी लगायत नेताहरूले बिदाइ गरेका थिए।