
पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा निराश पार्दै एपिएफ च्याम्पियन बन्यो । एपिएफले पुलिसलाई २५–१९, २५–२० र २५–१३ को अङ्कमा हराउन सफल भयो ।
यससँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपिएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपिएफले रु छ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले रु तीन लाख पुरस्कारमा चित्त बुझायो ।