
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आग्रहपछि प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ भएको छ ।
आइतबार बिहान ११ बजेका लागि तय भएको बैठक सभामुख देवराज घिमिरेले दलहरूको आग्रहमा ११:३० का लागि सारेका थिए ।
तर, त्यसपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको बैठक चलिरहेकाले केही समय पर्खन भनेको थियो । सभामुख घिमिरेको सचिवालयका अनुसार रास्वपाको आग्रह अनुसार बैठक बस्नमा ढिलाइ भइरहेको छ । संसद् भवन नयाँ बानेश्वर पुगेका सभामुख घिमिरेले रास्वपाको निर्णय पर्खिरहेका छन् ।
सभामुख घिमिरेले संसदमा जारी अवरोधका सन्दर्भमा आइतबार बिहान रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग छलफल गरेका छन्।
रास्वपा कार्यवाहक सभापति अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा भएको छलफलमा सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल शुरू गर्नैपर्ने बाध्यता रहेको बताउँदै अवरोधको स्वरूप बदल्न आग्रह गरेका थिए ।
उनले संसद्लाई मर्यादित बनाउन आवश्यक संवेदनशीलता देखाउनुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन् ।
अर्यालले आफूहरूले संसद्मा अवरोध जारी राख्ने बताउँदै संसद्को मर्यादा कायम राख्न प्रतिबद्ध रहेको बताएका थिए । उनले यस विषयमा पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।
गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएको विषयमा बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका छन् ।
टेलिफोन संवादमार्फत् सभामुखले अध्यक्ष लिङ्देनसँग संसद्मा आफ्ना विषयहरू उठाउने क्रममा सदन सञ्चालनको वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।