
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह थापाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
मन्त्री थापाका अनुसार कुल बजेटमध्ये सर्वाधिक हिस्सा पुँजीगत खर्चका लागि छुट्याइएको छ । उनले प्रदेशको समग्र आर्थिक गतिविधि प्रवाह गर्न र भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जनालगायतका क्षेत्रमा ठोस पहल गर्न बजेट केन्द्रित हुने जानकारी दिए ।
प्रस्तावित बजेटमा १० अर्ब २० करोड रुपैयाँ चालू खर्चका लागि छुट्याइएको छ, जसले सरकारको नियमित प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी कार्यहरू संचालन गर्नेछ । यस्तै, पुँजीगत तर्फ १९ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ, जुन रकम पूर्वाधार निर्माण, विकास योजनाहरूको कार्यान्वयन र दीर्घकालीन परियोजनाहरूमा खर्च गरिनेछ ।
प्रदेश सरकारका अनुसार स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसले स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि, सेवा प्रवाहमा सहकार्य र प्रदेश-स्थानीय सरकारबीचको समन्वयलाई अझ मजबुत पार्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, बजेटमा १ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ छुट्याइएको छ, जसअन्तर्गत ऋण भुक्तानी, प्रदेश सरकारको कर्जासम्बन्धी दायित्व व्यवस्थापन र वित्तीय अनुशासन कायम गर्नुपर्ने पक्षमा खर्च गरिने जनाइएको छ ।
बजेट भाषणमा मन्त्री थापाले प्रदेशको आर्थिक सुधार र समावेशी विकासमा जोड दिनेगरी नीति, कार्यक्रम र बजेट तयार गरिएको बताए । उनले जल, जंगल, जडिबुटी, पर्यटन, ऊर्जा र कृषि क्षेत्रको उपयोगमार्फत रोजगारी सिर्जना र आर्थिक समृद्धिको बाटो खोल्ने दाबी पनि गरे । अब प्रस्तुत बजेटमाथि प्रदेशसभा बैठकमा छलफल हुने र त्यसपछि पारित गरिनेछ ।