२२ असार २०८३, सोमबार

सडक सीमाभित्रका संरचना आफैं हटाउन दोस्रो पटक सूचना प्रकाशित

असार २, २०८२
काठमाडौं
सडक सीमाभित्रका संरचना आफैं हटाउन दोस्रो पटक सूचना प्रकाशित

 काठमाडौँ महानगरपालिका र डिभिजन सडक कार्यालय, काठमाडौँले सडक सीमाभित्र निर्माण गरिएका अनधिकृत संरचना आफैं हटाउन दोस्रो पटक सूचना जारी गरेका छन्।

भौतिक योजना तथा निर्माण मन्त्रालयबाट प्रकाशित राजपत्रअनुसार काठमाडौँको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको अरनिको राजमार्गको दायाँबायाँ १५/१५ मिटर गरी कायम गरिएको सडक सीमा भित्र रहेका अवैध संरचना हटाउन आग्रह गरिएको हो।

सडक सीमाको चिनो लगाउने र किला गाड्ने काम २०८२ साल वैशाख १० गते नेपाल सरकार र स्थानीय सरकारका सम्बन्धित निकायहरूबाट संयुक्त रूपमा सम्पन्न भइसकेको जनाइएको छ। तर सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अवज्ञा गर्दै केही व्यक्तिहरूले उक्त सीमा क्षेत्रभित्र नक्सा पास विना वा नक्सा पास विपरीत अनधिकृत संरचना निर्माण गरेका कारण यो सूचना दोस्रो पटक प्रकाशित गरिएको हो।

सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले २०८२ साल असार मसान्तसम्म अनधिकृत संरचना सम्बन्धित व्यक्तिबाट स्वयं हटाउनुपर्नेछ।” तोकिएको म्यादभित्र हटाइएन भने सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४, भवन निर्माण सम्बन्धी मापदण्ड तथा कार्यविधि र सम्बन्धित निकायको निर्णयअनुसार आवश्यक कारबाही गरिने स्पष्ट उल्लेख छ।

सूचना काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र नेपाल सरकारअन्तर्गतको सडक विभाग, डिभिजन सडक कार्यालय काठमाडौँले संयुक्त रूपमा जारी गरेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्