२२ असार २०८३, सोमबार
आलेख– बजेटको चिरफार

छुटेका केही विषयवस्तु, जसलाई समेट्दा उत्कृष्ट बन्नसक्थ्यो बजेट

असार ३, २०८२
काठमाडौं
छुटेका केही विषयवस्तु, जसलाई समेट्दा उत्कृष्ट बन्नसक्थ्यो बजेट

नेपाल सरकारले हालै संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्र तथा विज्ञहरूबाट प्रशंसा बटुलेको छ । सधैँ आलोचना मात्रै हुँदै आएको बजेटप्रति राजनैतिक दलहरूले पनि सन्तुलित प्रतिक्रिया दिएका छन् । विज्ञहरू पनि कार्यान्वयन प्रभावकारी भयो भने बजेट औसतमा राम्रै आयो भन्दैछन् । उनीहरूको निशाना कार्यान्वयनमा प्रभावकारिता तर्फ छ । गत वर्ष आव २०८१/०८२ को बजेट प्रस्तुत भएपछि पनि निजी क्षेत्र उत्साहित भएर बजेटको प्रशंसा गरेको थियो । तर, उपलब्धि र उत्साहले प्रशंसालाई समर्थन गरेको छैन । सरकारी कोष व्यवस्थापन र खर्चमा स्वयं सरकारको प्रस्तुति कमजोर रहेको आँकडाले बताइरहेको छ ।

बजेटले प्रशंसा पाउनु भनेको नीति कार्यक्रमले आर्थिक सामाजिक वास्तविकतालाई सम्बोधन गर्नु हो । निजी क्षेत्र परिचालन गरी आर्थिक गतिविधिमा अपेक्षित बनाउनु हो । सेवा तथा विकास व्यवस्थापनबाट सर्वसाधारणमा आशा र अवसर सिर्जना गर्नु हो । साथै, सबल बजेटले सामाजिक, भौगोलिक, प्रादेशिक र क्षेत्रगत न्यायलाई भुल्दैन । प्राविधिक रूपमा बजेटको आकार सुन्निनु हुँदैन, कार्यान्वयनयोग्य हुनुपर्दछ, कोष तथा नगद व्यवस्थापनमा संवेदनशील हुनुपर्दछ र क्रियाकलापहरू कोषित हुनुपर्दछ । बजेटमा यी गुणहरू कत्तिको छ भन्ने कुरा वक्तव्यमा उल्लेख भएका तथ्यहरूबाट बुझ्न सकिन्छ ।  

बजेटलाई राम्रो भनिनुका पछि विभिन्न कारणहरू छन् । निजी क्षेत्रलाई प्रोत्साहन दिन कर तथा कार्यविधिगत पक्षबाट सहयोग गरिएको छ, जसबाट लगानीमैत्री बनाउन सकिन्छ । निजी क्षेत्रले दिएका सुझावहरूलाई समावेश गरिएकाले पनि निजी क्षेत्र खुशी देखिएको हो । जस्तो कि औद्योगिक संरक्षण तथा लगानी प्रवर्द्धन नीतिहरू प्रस्ताव गरिनु, सूचना प्रविधि र होटल रिसोर्टलाई विशेष उद्योगसरहको स्तर दिने व्यवस्था, सूचना प्रविधिजन्य निर्यातमा ७५ प्रतिशत कर छुटको व्यवस्था, नेपालमा बसेर सूचना प्रविधि सेवा निर्यात गर्नेलाई ५ प्रतिशत मात्र आयकर, दश करोड रुपैयाँसम्मको स्टार्टअप व्यवसायलाई ५ प्रतिशतमात्र आयकर र यो नै अन्तिम हुने प्रावधान एवं नयाँ कर प्रस्तावहरू नगरिनुले निजी क्षेत्र मख्ख छ । 

त्यस्तै, प्राङ्गारिक तथा प्राकृतिक मल उत्पादनका उपकरण, खेलकुदका उपकरण, ग्रीन हाइड्रोजन उत्पादन, वैकल्पिक ऊर्जा उत्पादनमा सहुलियतले खुशी हुने अरू आधार दिएको छ । विदेशमा लगानी गर्ने प्रावधानले पनि उनीहरूको खुसीलाई ह्वात्तै बढाएको छ, भलै कि यसको साइड इफेक्ट हेरिएको छैन । पाँच लाख सुकुम्बासीलाई लालपुर्जा दिने भनिएकोमा एउटा वर्ग खुसी छ । मल कारखानाको प्राथमिकता र धानलगायत फसलको समर्थन मूल्य घोषणा गर्ने भनिएकोमा किसानहरू खुसी हुने सम्भावना छ । ३ प्रतिशत ब्याजमा २० लाख रुपैयाँसम्म कर्जा दिने प्रावधान र पढाइसाथ काम गर्ने नीतिका कारण युवाहरूलाई खुसी बनाउन खोजिएको छ । काठमाडौं हेटौंडा पोडवे सम्भावना र फ्रुट फरेस्टको नवीन अवधारणामा प्रवेश गरेका छन् ।  

बजेटबाट सबै बर्ग र व्यक्तिलाई खुसी बनाउन सकिँदैन । तर, यसको खुद कल्याणकारिता असर उच्च हुनुपर्दछ । साथै, बजेटका सामाजिक आयाम पनि छन् । यी दृष्टिकोणबाट हेर्दा खुद कल्याणकारिता स्तर अनुभूत तहमा देखिन बजेटले सम्बोधन गर्नैपर्ने आधारभूत कुराहरू छुटाएको छ । पहिलो त बजेट संरचनामा आधुनिक दृष्टिकोण नभई कोष व्यवस्थापनको शास्त्रीय ढाँचामा छ । 

आर्थिक दर्शन, नीति, प्राथमिकता र कोषका चार स्तम्भमध्ये पछिल्लोमा मात्र जोड दिइएकाले भार सन्तुलन छैन । दोस्रो, सरकारका नीति योजनाबाट सबैभन्दा असन्तुष्ट वर्ग युवा हो, उसैको जोश, जाँगर, सपना र सक्रियतामा मुलुकको भविष्य निर्भर रहन्छ । बजेटले युवामा आशा जगाउने कार्यक्रम ल्याउन सकेको छैन । स्टार्ट अप र कमाउँदै पढ्ने पुराना कुराले परिणाम देखाएको छैन । युवालाई विश्वास दिलाउन उद्यशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका विषयलाई गरी आउनुपर्थ्यो । युवा परिणाम चाहन्छ, आश्वासन वा प्रक्रियामा सरोकार राख्दैन । 

निजी क्षेत्रको प्रशंसा पनि वास्तविक होइन, खास उद्यमीका विषय र कर सहुलियतले मात्र प्रशंसा देखिएको हो । उद्यमीहरूमा उद्यमशीलताको संस्कृति विकास गर्न नसकिएकाले विगतका वर्षहरूमा जति सहुलियत दिए पनि परिणाम देखिन सकेन । विदेशमा लगानीको ढोका खोलिएका कारण पुँजी पलायन हुने सम्भावना छ ।

बजेटले निजी क्षेत्रलाई वृद्धि र विकासको इञ्जिन भने पनि वास्तविक रूपमा निजी क्षेत्र परिचालन गर्न समर्थ छैन । निजी क्षेत्रको प्रशंसा पनि वास्तविक होइन, खास उद्यमीका विषय र कर सहुलियतले मात्र प्रशंसा देखिएको हो । उद्यमीहरूमा उद्यमशीलताको संस्कृति विकास गर्न नसकिएकाले विगतका वर्षहरूमा जति सहुलियत दिए पनि परिणाम देखिन सकेन । विदेशमा लगानीको ढोका खोलिएका कारण पुँजी पलायन हुने सम्भावना छ । त्यसैपनि कमजोर वित्तसंरचनाको अर्थतन्त्र, त्यसमा पनि लगानीका नाममा विदेशी सञ्चिति बाहिर जाँदा त्यसको प्रभाव के पर्ला ? 

सर्वसाधारणलाई अनुभूत हुनेगरी कार्यक्रमहरू आएका छैनन् । महंगी नियन्त्रण, बजारको फौजीकरण नियन्त्रण र अनुत्पादक लगानी नियन्त्रण गर्ने कार्यक्रम आएको भए जनतामा आशा सञ्चार हुने थियो । 

बाह्य पुँजी र प्रविधिको सहकार्यसम्बन्धी कार्यक्रम आएको भए आन्तरिक क्षमता र उद्यमशील संस्कृति पनि साथै बढ्ने थिए । कारागारलाई कारखानामा बदल्ने कार्यक्रम आएको भए छुट्टै प्रभाव पर्थ्यो । छायाँ अर्थतन्त्रलाई औपचारिक बनाउने, नियमन गर्ने प्रतिबद्धता आएको भए हुने थियो । विनियोजन न्याय हुनेगरी रकम विनियोजन भएको भए नीतिप्रभावी र सर्वसाधारण सबैमा समान कल्याणकारिता वितरण हुने थियो । स्थानीय सम्भावना उपयोग गरी घरबस्तीदेखि आर्थिक संरचना निर्माण गरी क्षेत्रीय तह, राष्ट्रिय तहसम्म विस्तार गर्ने उत्पादन शृङ्खला विकास गर्न खोजिएको भए हुने थियो । 

सुकुम्बासीको नाममा अवास्तविक सुकुम्वासीले फाइदा पाउने सम्भावना छ । कर्मचारीको तलब र पेन्सनमाथि उपेक्षा भयो । विदेशी सेना र प्रहरीबाट निवृत्तको निवृत्तिभरणलाई करमा ल्याउन सकिएको भए र निम्न निवृत्तिभरण पाउनेलाई कर सहुलियत गर्न सकिएको भए बजेटले कम आय भएका वर्गलाई पनि सम्बोधन गर्‍यो भन्ने सन्देश जाने थियो । सीमा क्षेत्र विशेष कार्यक्रम ल्याउन सकिएको भए सीमा क्षेत्रका नागरिकमा राष्ट्रियताको भावना प्रबलीकरण हुनेथियो । सबैबाट निकै आलोचित सांसद विकास कोषले घुमाउरो बाटो नपक्डेको भए हुने थियो । 

सन्तुलित विकासको अवधारणालाई सम्बोधन भएको छैन । सुधारका लागि आएका नीतिहरू विद्यमान कानून र कार्यविधिका निरन्तरता मात्र हुन्, अग्रसरतामुखी सोच भएको भए हुने थियो । गिग अर्थतन्त्रका समयमा घर–घरबाट आर्थिक अवसर सिर्जना गरेर महिला एवं युवालाई स्वरोजगार बनाउने कार्यक्रम आएको भए हुने थियो । सार्वजनिक वित्त व्यवस्थापन सुधार कार्यक्रमहरू आएका भए वित्तीय अनुशासन बढ्ने थियो । 

नेपाली मनमुटु लिएर विश्वभरि फैलिएका  डायस्पोराको सम्बन्धलाई राष्ट्र निर्माणमा उपयोग गर्ने कार्यक्रम आएको भए हुने थियो । मौद्रिक नीतिको कार्यक्षेत्र अतिक्रमण गर्न नखोजिएको भए, बरु साख सिर्जनामा ल्यान्डसिलिङ कायम गर्न नीति सर्त राखिएको भए हुने थियो । व्यावसायिक सदाचारिता भएको व्यक्तिलाई मात्र राज्यले जिम्मेवारी दिन्छ भन्ने प्रत्याभूतिका लागि विषयमा नीति मापदण्ड आएको भए र राज्य सबैभन्दा नैतिक संस्था हुने गरी नीति मापदण्ड आएको भए हुने थियो । (@mainaligopi) 
 

salt training

कमेन्ट गर्नुहोस्