२६ असार २०८३, शुक्रबार
राखेपमा प्राविधिक जनशक्ति अभाव

खेलकुदमा पूर्वाधारका योजनाको चाङ, कार्यान्वयन गर्न छैनन् पर्याप्त प्राविधिक जनशक्ति

पूर्वाधार निर्माण शाखामा जम्मा १ जना स्थायी इन्जिनीयर, आयोजनास्थलमा पुग्नै पनि समस्या
असार ४, २०८२
काठमाडौं
खेलकुदमा पूर्वाधारका योजनाको चाङ, कार्यान्वयन गर्न छैनन् पर्याप्त प्राविधिक जनशक्ति

पछिल्ला वर्षहरूमा खेलकुद पूर्वाधारमा बजेट उल्लेख्य मात्रामा विनियोजन भए पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा त्यसलाई कार्यान्वयन गर्ने प्राविधिक जनशक्ति निकै कम रहेको पाइएको छ ।

बर्सेनि बढ्दै गएको खेलकुद बजेट खर्चिएर पूर्वाधार निर्माणमा भूमिका खेल्नुपर्ने प्राविधिक कर्मचारीको निकै अभाव रहेको पाइएको हो । 

पछिल्लो समय नेपाली खेलकुदको अन्तर्राष्ट्रिय दायरा फराकिलो बन्दै गएको छ ।

विभिन्न खेलका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को अब्बल प्रदर्शन गरेसँगै विश्व खेलवृत्तमा नेपालले गतिलै चर्चा पनि बटुल्न थालेको छ ।  

सीमित स्रोत–साधनबीच देशका लागि खेल्ने नेपाली खेलाडीको हुटहुटी नै यसको प्रमुख कारण हो । 

क्रिकेट, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, भारोत्तोलनजस्ता खेलका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले गतिलो छाप छाड्दै आएका छन् । 

केही वर्षयता नेपाली फूटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई सफल सावित गर्न नसके पनि यो खेलका थुप्रै महिला तथा पुरुष खेलाडीले विभिन्न राष्ट्रका व्यावसायिक लीगमा गतिलै छलाङ मारिसकेका छन् ।     

खासगरी, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्रमशः जुन उचाइ हासिल गर्दै गएको छ, त्यसले विश्व खेलकुदकै ध्यान नेपालतर्फ आकर्षित गरेको छ । यसरी सीमित स्रोत–साधनबीच नेपाली खेलाडीले अन्तर्राष्ट्रिय आकाश छिचोल्दै गर्दा सरकारमाथि पनि त्यसको गतिलै दबाब परेको छ ।

त्यसैको प्रतिफल हो, पछिल्लो समय सरकारले खेलकुद पूर्वाधार विकासमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । प्रत्येक आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद पूर्वाधारका नयाँ–नयाँ योजना अघि सार्ने गरेको छ ।

नेपाली खेलकुद र खेलाडीका लागि यो सकारात्मक पक्ष हो । तर, यसको अर्को पाटो त्यति सकारात्मक देखिँदैन । सरकारले वर्षौंअघि शुरू गरेको खेलकुद पूर्वाधार निर्माणका योजनाहरूले लामो समय बितिसक्दा पनि मूर्तरूप लिन सकिरहेका छैनन् । 

कतिपय योजना शुरू भएर कछुवा गतिमा अगाडि बढिरहेका छन् भने कतिपय योजना त अझै कागजमै सीमित छन् । यसका विभिन्न कारणमध्ये एउटा हो, सम्बन्धित निकायमा आवश्यक प्राविधिक जनशक्तिको अभाव ।  

सरकारले खेलकुद पूर्वाधार विकासका लागि छुट्याएको बजेट युवा तथा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा पुग्छ ।

मन्त्रालय आफैंले पूर्वाधार निर्माणका योजनाहरू कार्यान्वयन गर्ने होइन, अनुगमन मात्र गर्ने हो । योजना कार्यान्वयन गर्ने निकाय राखेप नै हो । तर, आवश्यक जनशक्तिको अभावमा राखेप आफैं थलिएको छ ।

null

एकातिर, राखेपको पूर्वाधार निर्माण तथा मर्मत शाखामा प्रत्येक आर्थिक वर्षको बजेट भाषणपछि थुपारिँदै जाने पूर्वाधार निर्माण योजनाको चाङ छ ।अर्कातिर, राखेपमा प्राविधिक कर्मचारीको संख्या भने घट्दो छ ।

‘हामीसँग प्राविधिक कर्मचारीको निकै अभाव छ । कर्मचारी घट्ने क्रम अझै जारी छ । हाल कार्यरत कर्मचारीले मात्र पूर्वाधार निर्माणको सबै योजना अगाडि बढाउन गाह्रो छ,’ पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले भने ।

उनका अनुसार, राखेपमा हाल एकजना मात्र स्थायी इन्जिनियर छन्, जो उनी आफैँ हुन् । यसका अतिरिक्त अन्य ७ जना इन्जिनियर छन् । शाखाका प्रमुख श्रेष्ठबाहेक अरु सबै इन्जिनियर करार सेवामा कार्यरत छन् । 

‘कुनै समय हामीसँग उल्लेख्य संख्यामा प्राविधिक जनशक्ति थियो । तर, विस्तारै कोही सेवानिवृत्त भए भने धेरैजसो करार सेवामा रहेकाहरू राम्रो अवसर पाएसँगै अन्यत्र लागे । अहिले प्राविधिक जनशक्तिको अवस्था दयनीय छ,’ उनले लोकान्तरसँग भने ।

खेलकुदमा देशभर संघीय सरकारअन्तर्गतका सयौं योजना रहेको र ती सबै योजना यही सीमित जनशक्तिले हेर्नुपर्ने हुँदा अप्ठ्यारो परेको उनी बताउँछन् । आगामी आर्थिक वर्षको बजेटमा मात्र खेलकुद पूर्वाधार निर्माणका १ सय सातवटा योजना अघि सारिएको छ । 

केही योजना विगतकै निरन्तरता हुन्, भने अधिकांश नयाँ छन् । ‘देशभर सयौं योजना छन् । प्राविधिक जनशक्तिले एउटा योजनाका लागि जुम्ला पुग्नुपर्छ भने अर्को योजनाका लागि ताप्लेजुङ । यात्रामै लामो समय बित्छ । त्यसमाथि एउटै योजनाका लागि पटक–पटक धाउनुपर्ने हुन्छ,’ उनले गुनासो गरे ।

राखेप स्रोतका अनुसार, प्रत्येक वर्षको बजेट वक्तव्यमार्फत आउने अधिकांश योजना हचुवाको भरमा ल्याइएको हुन्छ । मन्त्री, सांसद वा सार्वजनिक पद धारण गरेका प्रभावशाली व्यक्तिहरूको दबाबमा अनावश्यक रूपमा उनीहरूको क्षेत्रमा खेलकुदका योजना पर्ने गरेका छन् ।    

‘मन्त्री, सांसद र सार्वजनिक पद धारण गरेका प्रभावशाली व्यक्तिहरूको दबाबमा उनीहरूको क्षेत्रमा अधिकांश योजना पर्ने गरेका छन् । जबकि ती पूर्वाधार त्यहाँ आवश्यक नै हुँदैनन् । पछिल्लो समय नेपाली खेलकुदमा यस्ता योजना बढी छन्,’ राखेप बोर्डका एक पदाधिकारी भन्छन् । 

यसरी विभिन्न क्षेत्रको दबाबमा ल्याइने योजनामा न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हुन्छ, न त परियोजना निर्माण हुने जग्गाकै टुङ्गो लागेको हुन्छ । यस्ता परियोजनामा झनै बढी प्राविधिक जनशक्तिको प्रयोग हुने ती अधिकारी बताउँछन् । 

‘एकातिर सीमित जनशक्ति छ । अर्कातिर, दबाबमा र हचुवाको भरमा आउने टुक्रे योजनाका कारण प्राविधिक जनशक्तिले झनै बढी सास्ती झेल्नुपर्ने अवस्था छ । हचुवाको भरमा आएका यस्ता अधिकांश योजनाको त डीपीआर समेत तयार पारिएको हुँदैन । भएका सीमित जनशक्ति पनि यस्ता योजनामा अल्झिनु परेपछि त्यसको प्रभाव राम्रा योजनामा पर्छ,’ राखेप बोर्डका ती पदाधिकारी भन्छन् ।   

युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जगदीश पराजुली खेलकुदमा पूर्वाधार निर्माणका सबै योजना राखेपमार्फत नै कार्यान्वयन हुने गरेको बताउँछन् ।

‘सबै योजना राखेपमार्फत नै कार्यान्वयन हुने हो । मन्त्रालयले अनुगमन र नियमन गर्ने हो । प्राविधिक जनशक्तिको अभाव नै देखिन्छ । मन्त्रालयमा पनि एकजना इन्जिनियरको मात्र दरबन्दी छ,’ मन्त्रालयका सूचना अधिकारीसमेत रहेका पराजुलीले भने ।

पूर्वाधार निर्माण शाखाका प्रमुख श्रेष्ठ जनशक्ति कम भएको विषयमा सम्बन्धित निकायमा पटक–पटक जानकारी गराइए पनि हालसम्म सुनुवाइ नभएको गुनासो गर्छन् ।

‘यस विषयमा निकैपटक जानकारी गराइयो तर, अहिलेसम्म सकारात्मक खबर आएको छैन,’ उनले भने ।

राखेपका बोर्ड सदस्य अञ्जन धमला प्राविधिक जनशक्ति अभावको विषयमा राखेपले औपचारिक रूपमै मन्त्रालयलाई जानकारी गराए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बताउँछन् ।

उनका अनुसार, राखेपले निकै अघिदेखि यो विषयमा चासो देखाउँदै आए पनि समस्या उस्तै छ ।

‘निकै अघि राखेपका तत्कालीन उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा गठित कमिटीले ओएनएम सर्भे गरेर कर्मचारीको अभावको विषयमा प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन मन्त्रालयमा पनि छ । तर, अझै समस्या समाधान हुन सकेको छैन,’ उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्