१० साउन २०८३, आइतबार

धोएको मूलाजस्तो पार्टी भेटिँदैन, एमालेमा अरुभन्दा कम आन्तरिक समस्या छ- पौडेल

असार ४, २०८२
काठमाडौं
धोएको मूलाजस्तो पार्टी भेटिँदैन, एमालेमा अरुभन्दा कम आन्तरिक समस्या छ- पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम रहेको बताएका छन् ।

एमाले जनसंगठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए ।

एमाले उपाध्यक्ष पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको दाबी गरे । ‘कतै पनि सग्लो पार्टी भेटिँदैन । धोएको मूला जस्तो, गंगाजल जस्तो पार्टी भेटिँदैन’, उनले भने, ‘तर, एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिए   । ‘विधान महाधिवेशनबाट अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी संगठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौं’, उनले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषय प्रस्ताव गर्दछ । यी विषय हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौं ।’

उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसंगठनलाई निर्देशन दिए । 

‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं’, उनले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौंला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्