
रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत २८ अर्ब संकलन भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि गत जेठ मसान्तसम्म आयातित सामग्रीको शुल्कबाट २८ अर्ब ७१ करोड राजस्व प्राप्त भई राज्य कोषमा दाखिला भइसकेको भन्सार कार्यालयले जनाएको छ ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले राजस्व वृद्वि भएको हो । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व संकलन भएको थियो ।
चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको जनाउँदै उनले तीन अर्ब बराबरका सामग्री निर्यात भएका बताए । उनका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जीप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बस ट्रक एक हजार १७६ वटा विद्युतीय सवारी साधन आयात भएका हुन् ।
सवारीसाधन आयातका लागि संघीय सरकारको यातायात व्यवस्था विभाग र मोटर उत्पादक कम्पनीले प्रमाणित गरेको किलोवाटको आधारमा जाँचपास हुने गरेको बताउँदै प्रमुख भट्टराईले पारदर्शी ढङ्गबाट राजस्व असुली भइरहेको उल्लेख गरे । सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।