
भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी सञ्जय बांगरकी छोरी अनाया बांगरले क्रिकेट खेल्न पाउने आफ्नो अधिकारमाथि कुठाराघात नगर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग आग्रह गरेकी छन् ।
भारतीय टोलीका ब्याटिङ प्रशिक्षकसमेत रहिसकेका सञ्जय बांगरकी छोरी अनाया पछिल्लो समय निकै चर्चामा छिन् । खासमा अनाया पहिले पुरुष थिए । उनको नाम आर्यन थियो ।
उनी आफैं पनि क्रिकेट खेलाडी थिए । केही वर्षअघि उनी लिङ्ग परिवर्तन गराएर महिला बनेकी हुन् । पछिल्लो समय उनी ट्रान्सजेन्डर महिलाका रूपमा परिचित छिन् ।
लिङ्ग परिवर्तन गराएर महिला बनेपछि उनले क्रिकेट खेल्ने अवसर पाएकी छैनन् । तर, उनी क्रिकेटमा फर्कन चाहन्छिन् । सोही विषयलाई लिएर उनले आईसीसी र बीसीसीआईसँग यस्तो आग्रह गरेकी हुन् । लिङ्ग परिवर्तन गराएर महिला बनेपछि आईसीसी र बीसीसीआईले आफूलाई क्रिकेट खेल्नबाट रोक लगाएको आरोप उनले लगाउँदै आएकी छन् ।
‘संसारमा लिङ्ग परिवर्तन गराउने म एक्लो व्यक्ति होइन । विश्व खेलकुदमा पनि यस्ता उदाहरण धेरै छन् । त्यसैले म आईसीसी र बीसीसीआईसँग खेल्न पाउने मेरो अधिकारलाई सम्मान गरियोस् भन्न चाहन्छु,’ सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै उनले भनेकी छन् ।
लिङ्ग परिवर्तन गर्नुअघि उनले यशस्वी जैसवाल, सरफराज खानजस्ता चर्चित खेलाडीसँगै क्रिकेट खेलेका थिए । ‘विज्ञानले भन्छ, म महिला क्रिकेट खेल्न योग्य छु । तर, आईसीसी र बीसीसीआईले मलाई क्रिकेट खेल्नबाट रोक लगाएको छ,’ उनले भनेकी छन् ।