
प्रहरीको नक्कली परिचय दिँदै सर्वसाधारणसँग रकम असुल गरेको आरोपमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१२ बस्ने २५ वर्षीय धन कुमार थारु छन्। उनले विराटनगर–१६ स्थित रानी–जोगबनी सडकखण्डमा आफूलाई प्रहरी हुँ भनी डर त्रास देखाएर सर्वसाधारणसँग रकम असुल गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जोगबनीबाट विराटनगरतर्फ घरेलु सामग्री बोकेर फर्किंदै गरेका सर्वसाधारणसँग उनले गैरकानुनी रूपमा रकम उठाउँदै गरेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा दिइएको प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल उनलाई जिल्ला अदालत मोरङबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।