
मध्यपूर्व क्षेत्र फेरि तनावग्रस्त बनेको छ। इजरायल र इरानबीच बढ्दो तनावले अब सैन्य संघर्षको रूप लिँदै गएको छ। पछिल्लो घटनाक्रममा अमेरिकी संलग्नता देखिएपछि यो युद्ध झनै जटिल बन्दै गएको छ।
गएकाे सातामा इजरायलले इरानको केही परमाणु अनुसन्धान केन्द्र तथा सैनिक अड्डाहरूमा हवाई आक्रमण गरेको दाबी गरिएको छ। इजरायली सुरक्षा स्रोतका अनुसार यी स्थानहरू इरानका ‘रणनीतिक’ केन्द्र थिए जहाँबाट हमास, हिजबुल्लाह र यमनका हूथी विद्रोहीहरूलाई सहयोग पुग्ने गरेको थियो।
यसैबीच इरानले आक्रमणमा पछिल्लो अमेरिकी संलग्नताको पुष्टि गर्दै गम्भीर चेतावनी दिएको छ। तेहरानले यसलाई "सीधा युद्धको घोषणा" भन्दै प्रतिक्रिया जनाएको छ।
इजरायलको सुरक्षा हितका नाममा अमेरिका लामो समयदेखि साथ दिँदै आएको छ। पछिल्ला घटनाहरूमा अमेरिकाले इजरायलको हवाई सुरक्षाका लागि युद्धपोतहरू तैनाथ गरेको थियो। इरानबाट प्रक्षेपित केही मिसाइलहरू अमेरिकी प्रणालीले खसालेको पुष्टि भएसँगै अमेरिकाले युद्धमा प्रत्यक्ष सहभागीता जनाएको पुष्टि भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक प्रेस विज्ञप्तिमा भनेका छन्, “इरानले यदि अमेरिकी नागरिक वा सैन्य बलमाथि हमला गर्छ भने परिणाम गम्भीर हुनेछ।”
इरानी सर्वोच्च नेता आयातोल्ला खामेनीले इजरायलको “अवैध कार्य” को निन्दा गर्दै भनेका छन्, “यदि अमेरिका इजरायलसँगको युद्धमा प्रत्यक्ष सहभागी हुन्छ भने, त्यसको असर सिमित रहने छैन।”
युद्धसँगै तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्ने बताइन्छ । यसैगरी लेबनन, सिरिया, यमनजस्ता देशहरूमा पनि द्वन्द्व फैलिने चिन्ता बढेको छ।
संयुक्त राष्ट्रसंघले सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।