
रोहित शर्मा- भारतका प्रभावशाली क्रिकेटर हुन् । उनको कप्तानीमा भारतीय टोलीले थुप्रै महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको छ । केही समयअघि उनले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरिसकेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने उनले त्यसअघि नै सन्न्यास लिइसकेका थिए । उत्कृष्ट खेल कौसल र अन्तर्राष्ट्रिय क्रिकेटमा हासिल गरेको उपलब्धिका कारण विश्वभर उनका करोडौं प्रशंसक छन् । पछिल्लो समय उनले आफ्नो निजी जीवनको बारेमा केही कुरा सार्वजनिक गरेका छन् ।
खासगरी, उनले रीतिकासँग आफ्नो प्रेम प्रसंग र विवाहको प्रस्तावको बारेमा खुलेर कुराकानी गरेका छन् ।
भारतका पूर्वक्रिकेटर हरभजन सिंहको एउटा शोमा कुराकानी गर्दै रोहितले भनेका छन्, ‘रीतिकालाई विवाहको प्रस्ताव राख्दाको क्षण निकै नाटकीय थियो । कुनै चलचित्रको सिनभन्दा कम थिएन ।’
उनले लामो समयको प्रेम प्रसंगपछि रीतिका सजदेहसँग विवाह गरेका थिए । ‘म रीतिकाको प्रेममा परिसकेको थिएँ । उनी पनि मलाई निकै माया गर्थिन् । त्यसैले खेलका क्रममा उनी मेरा लागि घरबाटै खाना बनाएर ल्याउँथिन्,’ रोहितले भनेका छन् ।

उनले रीतिकासँग विवाहको प्रस्ताव राख्दाको क्षणलाई पनि राम्ररी बयान गरेका छन् । ‘विवाहको प्रस्ताव कसरी राख्ने भनेर अन्योल थियो । त्यसपछि मैले उनलाई आफूले क्रिकेट खेल्न शुरू गरेको स्टेडियममा लगेर विवाहको प्रस्ताव राख्ने योजना बनाएँ,’ उनी भन्छन् ।
आफ्नो योजनामा साथीहरूले पनि सहयोग गरेको उनी बताउँछन् । ‘उनी मेरा लागि खाना लिएर आएकी थिइन् । हामीले सँगै बसेर खाना खायौं । त्यसपछि मैले उनलाई आइसक्रिम खुवाउने बहानामा कारमा राखेर दादर, बान्द्रा, बर्लीलगायतका स्थानमा घुमाएँ,’ शर्माले सुनाए ।
अन्तिम समयसम्म पनि रीतिकालाई विवाहको प्रस्तावको बारेमा जानकारी नरहेको रोहितले बताएका छन् । ‘रात छिप्पिसकेको थियो । मैले उनलाई स्टेडियममा पुर्याएँ । गाडी सिधै स्टेडियमको बीचमा लगेँ । मेरा साथीहरू पहिलेदेखि नै तयार भएर बसेका थिए । उनीहरूले स्टेडियमको लाइट बालेपछि चारैतिर उज्यालो छायो । त्यसपछि मैले घुँडा टेकेर रीतिकासँग विवाहको प्रस्ताव राखेँ । वास्तवमै त्यो जीवनभर भुल्न नसक्ने क्षण थियो,’ रोहितले भनेका छन् ।
रोहितका अनुसार, उनले सन् २००८ मा पहिलोपटक रीतिकासँग भेटेका थिए । ‘शुरूमा हामी असल साथी थियौं । विस्तारै हामी एक–अर्काको प्रेममा पर्यौं । २०१३ सम्ममा हाम्रो प्रेम झाँगिदै गयो र लामो छटपटीपछि मैले विवाहको प्रस्ताव राख्ने हिम्मत जुटाएँ,’ उनले भनेका छन् ।
रोहित र रीतिका सन् २०१५ को डिसेम्बर १३ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । यो जोडी अहिले दुई वटा सन्तानको अभिभावक पनि बनिसकेको छ ।
रोहित र रीतिकाको छोरीको नाम समाइरा र छोराको नाम अहान हो ।
