११ साउन २०८३, सोमबार

निर्धारित मितिमा बजेट ल्याउन चुकेपछि तर्जुमा समितिले गरायो बालेनको ध्यानाकर्षण

असार ११, २०८२
काठमाडौं
निर्धारित मितिमा बजेट ल्याउन चुकेपछि तर्जुमा समितिले गरायो बालेनको ध्यानाकर्षण

६ मध्ये अन्य पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि निर्धारित समय (असार १०)मै बजेट ल्याए पनि सबैभन्दा ठूलो काठमाडौं महानगर निर्धारित मितिमा बजेट ल्याउनबाट चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र साह (बालेन)को ध्यानाकर्षण गराएको छ ।

मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समिति बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गर्दै आज पत्र बुझाएको हो । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृत दिएको आरोप लगाएर कार्यालय प्रवेशमै रोक लगाएपछि महानगरमा विवाद चुलिएको थियो । त्यसैलाई बहाना बनाएर मेयर साह हरेक बैठकबाट भागेपछि बजेट निर्धारित समयमा आउन नसकेको समितिको ठहर छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन तथा बिर्सजनमा समेत साउन १ गतेबाट बजेट अभावले प्रत्यक्ष असर पर्ने पर्ने उनीहरूको ठम्याइ छ ।   

‘ऐनको दफा ६६ बमोजिम प्रमुखज्यूको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको आयाको प्रक्षेपण र वितरणको खाका र बजेट सीमामा आधारित भई दफा ६७ बमोजिमको यस बजेट तथा कार्यक्रम तर्जुमा समितिले महानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न सक्ने भएको हुँदा दफा ६६ बमोजिमको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक सम्पन्न गरी यस समितिको काम कारबाहीमा सहजीकरण गरिदिन स्रोत तथा बजेट निर्धारण समितिका संयोजक रहनुभएका श्रीमान प्रमुखज्यूको ध्यानाकर्षण गर्दै प्रस्तुत निर्णयको जानकारी गराउने निर्णय गर्दछौँ,’ पत्रमा भनिएको छ ।  

बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख डंगोल हुन् भने सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, रावश्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारीलगायत सदस्य छन् ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्