
आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को बिजेता बनेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको प्रतियोगिताको आज बेनीको खुला मञ्च खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुईविरुद्ध तीन सेट आफ्नो पक्षमा पार्दै स्याङ्जा विजयी भएको हो ।
पहिलो सेटमा २५–१७ र तेस्रोमा २६–२४ को अन्तरमा स्याङ्जालाई पराजित गरेको म्याग्दी दोस्रो, चौथो र पाँचाँै सेटमा २५–१९, १६–२५ र १७–१५ को अन्तरमा पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझायो ।
बागलुङलाई २५–१४, २५–२१ र २५–२३ को सोझो तीन सेटमा पराजित गर्दै तनहुँ तेस्रो भएको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताए । आइतबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता थियो ।
विजेताललाई नगद रु दुई लाख, उपविजेतालाई नगद रु एक लाख, तेस्रोलाई नगद रु ५० हजार र चौथोलाई नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।