२३ जेठ २०८३, शनिबार

कारागारका मुढाले बजार नपाएपछि उत्पादन नै बन्द

असार १२, २०८२
काठमाडौं
कारागारका मुढाले बजार नपाएपछि उत्पादन नै बन्द

कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रूपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।
 
विगत लामो समयदेखि कैद सजाय भागिरहेका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आएका थिए । अहिले मुढा बिक्री हुन छोडेपछि उनी फुर्सदिलो बनेका छन् । 

कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने गरेको उनले बताए ।

यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उनले बताए । उनले भने, 'पहिला उत्पादन भएको मुढा अहिलेसम्म बजारमा जान सकेको छैन । अरु उत्पादन गरेर के गर्ने ?' अहिले कारागारमा मागअनुसार मुढा बुन्ने काम गरिएको उनले जानकारी दिए । 

यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौं, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आउनुभएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै आएको बताए । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । 

उनले भने, 'पहिलापहिला एक महिनामा एक हजार ५०० हाराहारी मुढा बिक्री हुन्थ्यो । अहिले ४०० मुढा बिक्री हुन पनि कठिन छ ।' मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उनले बताए ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी वन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताए । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उनको भनाइ छ । 

यहाँका मुढाको बजारीकरणमा कारागार प्रशासनले ध्यान दिँदै आएको उहाँले बताउनुभयो । मुढा बुनेर घरखर्च चलाउँदै आएका कैदीबन्दीलाई समस्या हुने उनले उल्लेख गरे ।

कारागार कार्यालयमा चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालबालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएका कारागार कार्यालयले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्