०६ साउन २०८३, बुधबार

एसईई गणितको नतिजामा देखिएको उत्साहजनक सुधार, कारण के ?

असार १३, २०८२
काठमाडौं
एसईई गणितको नतिजामा देखिएको उत्साहजनक सुधार, कारण के ?
  •  सुशील खनाल

हालका वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गणित विषयको नतिजामा क्रमशः सुधार देखिएको छ। यो सुधार कुनै एक्लो प्रयासको परिणाम नभई, विभिन्न सरोकारवाला निकायहरूको साझा लगनशीलता र एकीकृत पहलहरूको प्रतिफल हो। 

२०८० सालमा गणितमा अनुत्तीर्ण हुनेको सङ्ख्या १७७९८५ थियो भने अहिले त्यो सङ्ख्या घटेर १२८२१५ भएको छ । यद्यपि कूल सहभागी र अनुत्तीर्णले प्रतिशतमा थोरै तलमाथि होला, तर पनि नतिजामा धेरै सुधार भएको छ । 

यस सुधारको महत्त्वपूर्ण कडी भनेको शिक्षकहरूको अथक मेहनत हो। उहाँहरूले आफ्नो शिक्षण विधिमा नवीनतम परिवर्तनहरू आत्मसात् गर्नुभएको छ। यसका लागि स्थानीय तहहरूबाट प्रतिनिधित्व हुने गरी प्रदेशगत रूपमा विभिन्न निकायबाट विषयगत तालिमहरू सञ्चालन गरिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले गाउँपालिका महासंघ र नगरपालिका संघसँगको समन्वयमा गरेको कार्यक्रमले ठुलो भूमिका खेलेको छ। यी तालिमहरूले शिक्षकहरूलाई प्रश्न निर्माण सीप विकास, उत्तरपुस्तिका परीक्षणमा एकरूपता, नतिजा विश्लेषण र कक्षाकोठाको शिक्षण-सिकाइमा सुधार विषयक गहन कार्यशालाहरू मार्फत सशक्त बनाएका छन्। परिणाम स्वरूप, शिक्षकहरूले गणितका जटिल अवधारणाहरूलाई विद्यार्थी-मैत्री तरिकाले प्रस्तुत गर्न सकेका छन्, जसले विद्यार्थीको बुझाइलाई गहिरो बनाएको छ।

स्तरीकृत प्रश्न निर्माणको कार्य प्रारम्भ हुनुले पनि परीक्षाको गुणस्तरलाई उकासेको छ। पाठ्यक्रम र संज्ञानात्मक तहका आधारमा तयार पारिएका स्तरीय प्रश्नहरूले विद्यार्थीको रटानभन्दा बढी आलोचनात्मक सोच र प्रायोगिक सीपको मूल्याङ्कन गर्न मद्दत पुर्‍याएका छन्।

यी शैक्षिक पहलहरूलाई थप ऊर्जा प्रदान गर्न प्रधानमन्त्रीको बारम्बारको उत्प्रेरणा र झकझकाइ ले पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। उच्च राजनीतिक नेतृत्वबाट आएको सचेतनाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न र आवश्यक स्रोतसाधन जुटाउन सहयोग पुगेको छ।

समग्र सरोकारवाला निकायहरूबिचको सक्रियता (राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा स्थानीय तहहरू), नीतिगत निर्णयहरू र प्रयास सहितको प्रभावकारी कार्यान्वयन र समन्वयले पनि नतिजा सुधारमा सहयोग पुराएको छ 

अन्त्यमा, यो सुधारको श्रेय विद्यार्थीको मेहनतलाई पनि जान्छ। शिक्षक र परिवारको सहयोग तथा प्रोत्साहनमा विद्यार्थीहरूले गणितमा थप रुचि र लगनशीलता देखाएका छन्। अभिभावकको जागरूकता ले घरमा शैक्षिक वातावरण निर्माण गर्न र विद्यार्थीलाई नियमित निगरानी राख्न मद्दत पुर्‍याएको छ। 

शिक्षकहरूको जिम्मेवारी, उत्तरदायित्व र पेसागत प्रतिष्ठा प्रतिको समर्पणले पनि उहाँहरूलाई विद्यार्थीको सिकाइमा पूर्ण रूपमा समर्पित हुन प्रेरित गरेको छ। यी सबै पक्षहरूको सफल संयोजनकै कारण एसईई गणितको नतिजा सुधारको अवस्था बन्दै गएको हो।

 सुशील खनाल काठमाडौँ महानगरपालिकामा गणीत विज्ञका रुपमा कार्यरत छन् । 

salt training

कमेन्ट गर्नुहोस्