
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले बजेट समावेशी र समानुपातिक नल्याएको भन्दै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले समानुपातिक बजेट नभई मनपरी वितरण गरेपछि फिर्ता लिएको लोकान्तरलाई जानकारी दिए ।
प्रदेशसभामा लोसपामा ३ जना सांसद छन् । यसअघि जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जसपा नेपालका एक जना मात्र सांसद छन् ।
लोसपा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्बासेले सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको बताइन् । उनले समर्थन फिर्ता लिएर प्रतिपक्षको बेन्चमा बसेको बताइन् । दुई पार्टीले समर्थन फिर्ता लिए पनि सरकारलाई असर गर्दैन ।
सरकारलाई बहुमतका लागि ४४ सांसद आवश्यक पर्नेमा प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।