
राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको बताएका छन् । प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले बुधबार प्रदेश प्रमुखहरूसँग शीतल निवासमा भएको भेटमा यस्तो बताएका हुन् । 'प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ,' उनले भने ।
प्रदेश प्रमुख, प्रदेशको प्रमुखमात्र नभई केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता भएको उनले बताए । प्रदेश प्रमुखहरू समग्रमा संघीयताको सेतु भएको उनले बताए । 'त्यसो भएकाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच निरन्तर सम्पर्क, सम्वाद र समन्वय हुन जरुरी छ,' उनले भने ।
प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
