
संघीय निजामती विधेयकमा भएको छेडखानीको विषयलाई लिएर नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन् ।
बुधबार बसेको बैठकमा उनले विधेयकमा गरिएको परिवर्तनको जिम्मा लिँदै सभापति खतिवडाले राजीनामा दिनुपर्ने बताएका हुन् । ‘संसदीय समितिको गरिमा राख्नका लागि पनि सभापतिजीले मार्ग प्रशस्त गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘समिति सचिव सुरज दुराजीले पनि यो समिति छाड्दा राम्रो हुन्छ । अरु जिम्मेवारी लिएर काम गर्नु ।’
श्रेष्ठले समितिबाट सर्वसम्मत पारित भएको विधेयक परिवर्तन गरिएको विषयलाई त्रुटि मान्न नसकिने उनले बताए । ‘समितिमा जे भयो नि, त्यो गल्ती होइन, जानीजानी गरेको त्रुटिलाई अपराध भनिन्छ,’ श्रेष्ठले भने ।
समिति सभापतिको राजीनामा र विधेयकमा परिवर्तन गरिएको बारे छानबिनका साथै कुलिङ पिरियडलाई कार्यान्वयनमा लैजानुको विकल्प नरहेको उनले बताए ।
संघीय निजामती विधेयक असार १५ गते बसेको प्रतिनिधिसभा बैठकले पारित गरेको थियो । विधेयकमा जालझेल गरेर कुलिङ पिरिडयलाई निष्क्रिय बनाइएको भनेर विरोध भएपछि समितिको बैठक बसेको हो ।