०३ असार २०८३, बुधबार

तरुण दलको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म हुने

असार १८, २०८२
काठमाडौं
तरुण दलको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म हुने
फाइल फोटो

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ ।

निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

साथै तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाइने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीकोतर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । 

त्यसैगरी, तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू गरिएको ८० घण्टे आमरण अनशन उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन  थापाबाट आजै तोडिएको छ ।  

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ देखि जारी छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, रङ्गमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सिना, आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), इन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

विभिन्न प्रस्तावमा धारणा राख्नेक्रम जारी रहेकाले कार्यसमितिको बैठक असार १९ गते दिउँसो १२ः३० मा पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्