
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गर्दै अब ‘कम्युनिस्ट समाजवादी पार्टी, नेपाल’ को रूपमा अघि बढ्ने घोषणा गरेको छ । बिहीबार ज्येष्ठ सदस्य नन्दलाल विश्वकर्मा ‘आनन्द’को अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टीको नाम परिवर्तन गर्दै नयाँ कार्यदिशासहित सशक्त अभियान अघि बढाउने निर्णय गरेको हो।
बैठकले नेता हरिकृष्ण गजुरेल ‘भाष्कर’को संयोजकत्वमा ५१ सदस्यीय नयाँ केन्द्रीय समिति पनि गठन गरेको छ। पार्टीले ‘राष्ट्रिय मुक्ति क्रान्ति’को विचारलाई जनतामाझ पुर्याउने उद्देश्यले 'राष्ट्रिय मुक्ति एकता अभियान' सञ्चालन गर्नेछ।
पार्टीले स्वाधीन, समृद्ध र कानुनी राज्य निर्माण गर्ने समाजवादी गणतन्त्रात्मक संरचना र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणाली स्थापनाको पक्षमा सशक्त आन्दोलन गर्ने बताएको छ।
विचारमा सहमत समूह तथा व्यक्तिहरूलाई पार्टीमा ध्रुवीकृत गर्दै राजनीतिक एवं वैचारिक रूपमा निकट रहेका पार्टीहरूसँग कार्यगत एकता, संयुक्त मोर्चा हुँदै पार्टी एकताका लागि पनि पहल गरिने संयोजक गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले महँगी, भ्रष्टाचार, बेथिति, विकृति र विसङ्गतिका विरुद्ध संघर्षहरू तीव्र पार्ने पनि जनाएको छ।