
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन्।
गाउँपालिकामा मोबाइल नेटवर्कको समस्या भएपछि भुक्तानीका लागि ‘ओपीटी कोड’ सहज रुपमा पाउन लागि नेटवर्क भएको स्थान रुकुम पूर्व गएका भनिएका ती कर्मचारीहरूसँग गाउँपालिकाको असार २४ गते बिहानदेखि सम्पर्क कायम हुन नसकेको हो ।
गाउँपालिका अध्यक्ष ऋषिकेश बुढा मगरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा ती कर्मचारी सम्पर्कविहीन रहेकाले प्रशासनिक कामकाजमा समस्या आएको जनाएका छन्।
गाउँपालिकाको विज्ञप्तिअनुसार बेलुकी ७ देखि ८ बजेदेखि बिहान ८ बजेसम्म नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएपछि कार्यालयको भुक्तानी कार्यका लागि आवश्यक ओपीटी कोड प्राप्त गर्न प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले रुकुम पूर्व जाने असार २३ मा निर्णय गरेका थिए। उनीसँगै सहायक प्रशासन, लेखा, इन्जिनियर, प्रशासन शाखा प्रमुख तथा सवारी चालकसहित सात जना कर्मचारी कार्यालयबाट निस्केका थिए।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार असार २४ गते बिहान ७ बजेपछि ती कर्मचारीहरूसँग कार्यालयको कुनै सम्पर्क कायम भएको छैन। खोजी गर्दा रुकुम पूर्वमा पनि उनीहरू नभेटिएको र सम्पर्क गर्न खोज्दा सबैको मोबाइल अफ अवस्थामा रहेको जनाइएको छ।
पालिकाले उनीहरू सम्पर्कमा नआएको कारण कार्यालयको कार्य सञ्चालनमा ठुलो अवरोध उत्पन्न भएको बताएको छ। अध्यक्ष बुढा मगरद्वारा जारी विज्ञप्तिमा सम्बन्धित कर्मचारीहरूलाई तत्काल सम्पर्कमा आउन र जो–कोहीले उनीहरूबारे जानकारी पाएमा कार्यालयमा खबर गर्न अपिल गरिएको छ।
सम्पर्कविहीन कर्मचारीको सूची
