२८ जेठ २०८३, बिहीबार

रुपन्देही-३ मा स्वतन्त्र उम्मेदवारी दिने अजयकुमार गुप्ताको घोषणा

असार २६, २०८२
बुटवल
रुपन्देही-३ मा स्वतन्त्र उम्मेदवारी दिने अजयकुमार गुप्ताको घोषणा

आउँदो कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भैरहवाका युवा अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

सिद्धार्थनगर नगरपालिका-३ का गुप्ताले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन्  ।

विगतमा मधेशवादी दल र त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा रहेर राजनीति गरेका गुप्ताले आफू हाल स्वतन्त्र युवाका रूपमा उम्मेदवार हुने जानकारी दिए । उनले गत वैशाख ३० गते राप्रपा परित्याग गरेका थिए । 

‘अबको नेतृत्व रैथाने युवाको हुनुपर्ने नाराका साथ म अघि बढेको छु’, उनले भने, ‘म भैरहवामा जन्मेँ । यहीँ हुर्केँ, शिक्षा पाएँ, उद्योग–व्यवसाय सञ्चालन गरेँ, मेरो बाल्यकाल यहीँ बित्यो । म यहाँको स्थानीय भएकोले यहीँको माटोको माया छ ।’ 

रुपन्देही क्षेत्र नम्बर ३ का जनताले आफूलाई निर्वाचित गराउने आशा समेत लिएको उनले बताए ।

विगतमा निर्वाचित जनप्रतिनिधिले जनतामाझ गरेका वाचा काठमाडौं पुगेपछि बिर्सिएको उनको भनाइ छ । राजनीतिक नेतृत्वले ध्यान नदिएका कारण अरबौं लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको गुप्ताले बताए ।

निर्वाचन आयोगले रुपन्देहीमा उपनिर्वाचन गराउने भनी मिति तय गरेसँगै जिल्लामा चुनावी सरगर्मी शुरू भएको छ । केही दिनअघि बुटवल उपमहानगरपालिका मोतिपुरका लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । 

२०७९ को निर्वाचनमा रुपन्देही–३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा वरिष्ठ नेता दीपक बोहराको निधन भएसँगै यो क्षेत्र खाली थियो । ‘पोस्ट कोभिड’ समस्याले पीडित बोहराको १९ चैत २०८१ मा उपचारका क्रममा निधन भएको हो ।

रुपन्देही–३ मा १ लाख ३९ हजार ७६४ मतदाता छन् । यो क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाकादेखि बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् । 

यहाँ हुने उपचुनावमा नेपाली कांग्रेसबाट यसअघि पराजित बालकृष्ण खाँण, एमालेबाट खिमलाल भट्टराई, राप्रपाबाट दीपक बोहोराका छोराहरू प्रज्ज्वल र गौरव बोहोरा पनि आकांक्षी छन् ।

salt training

कमेन्ट गर्नुहोस्