२८ जेठ २०८३, बिहीबार

एनपीएलको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको निर्देशन

असार २६, २०८२
काठमाडौं
एनपीएलको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् । 

राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्‌मा निर्मित ‘नेशनल हाई पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपीएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिएका छन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपीएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए । 

आफूले हालै स्पेन भ्रमणका क्रममा रियल मड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणा गरे । 

प्रधानमन्त्री ओलीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिए । 

आगामी मंसिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।     
     
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए । 

परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद प्रतियोगिता र जापानमा हुने  २० औं दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो तयारीका साथ प्रस्तुत हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्