
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दोस्रो जनआन्दोलनको ‘पोस्टर गर्ल’, संसद् विघटन हुँदा ‘बोल्छ पाइन्छ’ भन्दै मुखमा कालो टेप टालेर मञ्चमा उक्लिएकी युवा नेतृ, माधव नेपालले नेकपा एमालेबाट विद्रोह गर्दा उनको हात समातेर निर्वाचन आयोगतर्फ डोर्होयाउने साहसी महिला– रामकुमारी झाँक्रीसँगै जोडिने विम्ब हुन् यी ।
उतिबेलाका केही थान तस्विर र केही सेकेन्डका भिडियोले झाँक्रीको जुझारुपन दर्शाउँछन् । उनको संघर्ष, लगाव र उनी हिँडेको राजनीतिक बाटोको अर्थ लगाउन आज पनि झाँक्रीलाई यिनै विम्बमार्फत सम्झिने थुप्रै छन् ।
संघर्षको मैदानमा झाँक्रीलाई कसैले राजनीतिको सिँढी चढाएन । आफ्नै बलबुतामा उनले राजनीतिको जँघार तरेकी हुन् । विरासतविना राजनीतिमा माथिसम्मै पुगिन्छ भन्ने मानक स्थापित गरेकी हुन् ।
आफूसँगै विद्यार्थी राजनीतिबाट उदाएका कांग्रेसका महामन्त्री गगन थापालाई ‘नेपाली राजनीतिकै एसेट’ भनेर प्रशंसा गर्न पछि परेकी छैनन् । परिस्थिति र नतिजाको ख्याल नगरी समयको मागबारे कुरा गर्दा झाँक्रीले धेरैबाट वाहवाही पनि पाएकी छिन् । विशेषगरी उनको खरो बोली प्रशंसकहरूलाई मन पर्छ । तर, खरो मात्रै बोलेर सम्भावना भएकी नेतृले आफूलाई यत्तिकै अलपत्र पारिन् कि भन्ने पनि उत्तिकै छन् । तर पछिल्ले समय उनी आफ्नै अभिव्यक्तिले अप्ठ्यारोमा परेकी छन् ।
००००
नेपाली कांग्रेसको अनुशासन समितिले गत निर्वाचनमा अन्तर्घात र उम्मेदवारलाई असहयोग गरेको भन्दै थप २६ जनालाई कारबाही गरेको छ ।
अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले विभिन्न जिल्लाका २६ जनामाथि छानबिन गरेर सचेत गराउने निर्णय गरेको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिएका छन् ।
००००
आफूनिकटका नेतालाई छानीछानी अनुशासनको कारबाही गरिएको भन्दै नेपाली कांग्रेसको शेखर कोइराला समूहले आपत्ति जनाएको छ ।
आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले निष्कासन र निलम्बन गरेका अधिकांश नेता आफ्नो समूहका रहेको भन्दै शेखर समूहको बैठकले आपत्ति जनाएको हो ।
बुधबार मात्रै अनुशासन समितिले कारबाही गरेका गण्डकीका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङका सभापति विष्णुकुमार राई आफ्नो पक्षको भएको शेखर समूहले दाबी गरेको छ ।
एक वर्षसम्म निष्कासनमा पर्ने गरी कारबाही गरिएका अधिकांश नेतालाई गुटगत रूपमा निशाना साँधिएको निष्कर्ष बिहीबार शेखरको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले निकालेको हो । नेता शेखरले कुनै नेतालाई पनि अन्याय हुन नदिने गरी सभापतिसँग कुरा उठाउने बताएका थिए ।
००००
रसुवाको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरूमध्ये थप २ जनाको शव फेला परेको छ । चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित व्यारेज पुलमा शव फेला परेको हो ।
अन्य वेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मिले भोटेकोशी र त्रिशूलीको दुवै किनारामा खोजीकार्य जारी राखेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।
००००
त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो ।
उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा ७ दशमलव ४८ प्रतिशतले बढी हो ।
००००
नेकपा माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले नेसपाबाट १५ जना नेताहरूलाई वैकल्पिक केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) केही पहिले एकता भएको थियो ।
००००
नेपाल सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबीच कर प्रणाली, सुन आयात तथा वितरण व्यवस्थापनलगायत विषयमा ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालय सिंहदरबारमा बसेको बहुपक्षीय बैठकमा व्यवसायी प्रतिनिधि र सम्बन्धित सरकारी निकायका पदाधिकारीहरूबीच सहमति जुटेको हो।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला तथा कुनै संस्थाको पहिचान खुल्ने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलको अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक हुने भएकाले यस्ता सामग्री प्रयोगमा रोक लगाइएको जनाएको छ ।
००००
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असार मसान्तभित्रै ल्याउने तयारी गरेको छ ।
यसअघि साउनको पहिलो साताभित्र सार्वजनिक हुने मौद्रिक नीति नवनियुक्त गभर्नरको जोडबलका कारण असारभित्रै ल्याउने तयारी भएको हो ।
मौद्रिक नीतिको तयारी लगायतका अन्य एजेन्डासहित बुधबार व्यवस्थापन समितिको बैठक बसेको थियो ।
००००
आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
समूह ‘बी’मा नेपालसँगै कुवेत र जापान परेका छन् । प्रतियोगितामा सहभागी ९ वटा टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नगर कार्यपालिकाको बैठक बोलाएका छन् ।
मेयर शाहको सचिवालयले दिएको जानकारी अनुसार भोलि शुक्रबार दिउँसो २ बजे बस्नेगरि कार्यपालिका बैठक आह्वान भएको छ ।
००००
नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ बिहीबारदेखि औपचारिक रूपमा शुरू भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेशनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गरे ।