
घानाका चर्चित आक्रामक मिडफिल्डर मोहम्मद कुदुस इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा आबद्ध भएका छन् । दुई वर्ष अर्को इङ्लिस क्लब वेस्ट हाम युनाइटेडमा बिताएर उनी टोट्टनहाम पुगेका हुन् ।
इङ्ल्यान्डमा श्रम अनुमतिको विवादबीच टोट्टनहामले उनलाई भित्र्याएको हो । २४ वर्षीय कुदुसलाई पाँच करोड ५० लाख पाउण्डमा टोट्टनहामले भित्र्याएको समाचारमा जनाइएको छ । टोट्टनहाम र कुदुसबीच ६ वर्षका लागि सम्झौता भएको बताइएको छ ।
उनी सन् २०३१ सम्म टोट्टनहाममा रहनेछन् । गत साता कुदुसलाई भित्राउन टोट्टनहामले राखेको पाँच करोड पाउण्डको प्रस्तावलाई वेस्ट हामले अस्वीकार गरेको थियो । उनले वेस्ट हामबाट प्रिमियर लिगमा ६५ खेल खेल्दै १३ गोल गरेका छन् ।
कुदुसले प्रिमियर लिगमा नौवटा गोलका लागि अन्य सहकर्मीलाई पास पनि उपलब्ध गराएका छन् । ‘म सधैं कुनै ठुलो क्लबबाट प्रिमियर लिग खेल्न चाहन्थेँ । आज मेरो त्यो सपना साकार भएको छ,’ टोट्टनहामसँग सम्झौता गरेपछि कुदुसले भनेका छन् ।
उनी घानाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनले डच क्लब आयाक्सबाट पनि व्यवसायिक फुटबल खेलिसकेका छन् । वेस्ट हामले उनलाई आयाक्सबाटै तीन करोड ८० लाख पाउण्डमा भित्राएको थियो ।