०२ असार २०८३, मंगलबार

एकीकृत समाजवादीमा कुन पद पाउँदैछन् वामदेवले ?

असार २७, २०८२
काठमाडौं
एकीकृत समाजवादीमा कुन पद पाउँदैछन् वामदेवले ?

अन्ततः नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा जाने गरी हस्ताक्षर गरेका छन् । शुक्रबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग गौतमले एकताबद्ध हुने गरी समझदारीमा पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकताबद्ध हुने समझदारीपछि साउन २ गते २ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुने नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले लोकान्तरलाई जानकारी दिए ।

‘यस अघि पनि गौतमजी हाम्रो पार्टीमा आउने गरी पटकपटक वार्ता भएको थियो । यसपटक उहाँसँग हामीले औपचारिक रूपमा सहमति गर्नुभएको छ,’ खतिवडाले भने, ‘शुक्रबार बिहान कार्यालयमा आउनुभएको थियो । हाम्रो अध्यक्ष र उहाँले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । अब साउन २ गते २ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुनेछ ।’

कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकता भएको भन्दै नेपाल र गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै,’ एकता गर्ने सहमतिपत्रमा उल्लेख छ, ‘नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रियसभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’

सहमतिपत्रमा नेता गौतमले पाउने पोजिशनको टुंगो लागेको छैन ।

तर वरिष्ठ नेता गौतमले वरिष्ठ पद नै पाउने उपाध्यक्ष खतिवडा बताउँछन् । ‘आज सम्झौता मात्रै भएको छ । अब २ गते यसले औपचारिकता पाउँछ,’ खतिवडाले भने, ‘गौतम वरिष्ठ नेता हुनुहुन्छ । उहाँको पोजिशन पनि वरिष्ठ नै हुनेछ । नेताहरूले आपसी सहमतिमा यसको टुंगो लगाउनुहुन्छ ।’

यस अघि वामदेव गौतमले एमाले प्रवेशको तयारी गरेका भए पनि अन्तिममा टुटेको थियो । एमाले र गौतम स्वयंले समझदारी भएको दाबी गरेका थिए । तर एमालेले गौतमलाई पार्टीमा प्रवेश गराएको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्