
पहाडलाई तराईसँग जोड्ने सिद्धार्थ राजमार्गको जोखिमपूर्ण खण्ड सिद्धबाबामा निर्माणाधीन चर्चित सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । बाह्रै महिना ढुंगा/पहिरो झर्ने पाल्पाको तिनाउ गाउँपालिका– ३ कुहिरे भिरमा बन्दै गरेको १ हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङको १७ महिनामा ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।
२०७९ मा निर्माण ठेक्का प्रक्रिया अघि बढे पनि सुरुङमार्ग खन्न ४ माघ २०८० बाट थालिएको थियो । सिद्धबाबा सुरुङमार्ग आयोजनाका अनुसार शुक्रबारसम्म सुरुङको भौतिक प्रगति ५७.५१ प्रतिशत र ५१.१ प्रतिशत वित्तीय प्रगति भएको छ । ३ वटा ‘बाइपास’ र मूल सुरुङको गएको माघ १० गते ‘ब्रेक थ्रु’ भएको थियो ।
मुख्य सुरुङमा भुइँ भागको ढलान (इन्भर्ट)को काम सकिएको छ । भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ)को काम ९ सय १८ मिटर सकिएको छ ।
आयोजनाका इन्जिनियर सविता ज्ञवालीका अनुसार अहिलेको गतिमा निर्माण भए निर्धारित मितिमै आयोजना सम्पन्न हुनेछ । ‘अहिले इन्भट (ढलान)को काम सकिएको छ, ‘लाइटिङ’को काम भइरहेको छ’ इन्जिनियर ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘अप्ठ्यारो परिस्थिति आए अहिले पनि सुरुङबाट गाडी वारपार गराउने अवस्थामा आइपुगेका छौं ।’
ज्ञवालीले थपिन्, ‘सम्पूर्ण ध्यान केन्द्रित गरी आयोजना निर्माणमा केन्द्रित छ । ब्रेक थ्रु पनि निर्धारित मितिमै भएको हो, अन्य कुनै अवरोध सृजना नभए अबको २ वर्षमा तराई र पहाडलाई जोड्ने सिद्धबाबा सुरुङमार्ग तयार भएर सञ्चालनमा आउनेछ ।’
विक्रम संवत् २०७९ मा ठेक्का प्रक्रिया सकेपछि साइड क्लियर गरेको आयोजनाको भौतिक निर्माणको काम शुरू भएको डेढ वर्ष भएको छ । सुरुङ ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा सुरुङमार्ग चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीका अनुसार वर्षा सकिएलगत्तै चिडियाखोला–सिद्धबाबा मन्दिर र दोभान खण्डमा यो प्रविधिको प्रयोग थालिने छ । विक्रम संवत् २०८३ सालभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
सिद्धबाबा खण्डमा सुरुङबाहेकको सडकमा स्लोप स्टेबलाइजेशन र रक ब्यारियर विधि अपनाएर जोखिम न्यूनीकरण गर्ने विधि अपनाइनेछ । जुन धेरै देशमा जोखिमपूर्ण स्थानमा सफल मानिएको छ ।
गएको एक दशकमा सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा र दुर्घटना हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक छ । गएको मंगलबार मात्रै पहिरो झरेर पाल्पाको रामपुरका जनक भण्डारीको मृत्यु भएको थियो । उनकी पत्नी कल्पना गम्भीर घाइते छन् ।
बुटवल–पाल्पा सडक विक्रम संवत् २०१८ सालदेखि खन्न शुरू भएको थियो । सरकारले बुटवल-पोखरा सिद्धार्थ राजमार्गको सबै खण्डलाई विस्तार गर्ने काम अघि बढाएको छ ।
यो खण्डमा अहिले दैनिक २ हजार ५०० सवारीसाधन गुड्छन् । सिद्धबाबा सडक भएर पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँचीसम्म पुग्ने गरिन्छ । धेरै नागरिकको पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुस भएको थियो ।
यहाँ सुरुङमार्गको आवश्यकतालाई विश्लेषण गरेर रुपन्देही क्षेत्र नम्बर २ का सांसद एवं अर्थमन्त्री विष्णु पौडेलको पहलमा काम अगाडि बढेको हो । सुरुङमार्ग बनेपछि सिद्धार्थ राजमार्ग सुरक्षित र भरपर्दो सडक बन्नेछ ।