
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि अमेरिका भित्रिने मेक्सिको र युरोपेली संघ (ईयू)का सामानमा ३० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत मेक्सिकोका राष्ट्रपति र युरोपेली आयोग प्रमुखलाई पठाइएको पत्र सार्वजनिक गर्दै सो निर्णय सार्वजनिक गरेका हुन् ।
मेक्सिकोतर्फको पत्रमा ट्रम्पले मेक्सिकोलाई ‘फेन्टानाइल संकट’को जिम्मेवार ठहर गरेका छन् । उनले भनेका छन्, ‘मेक्सिकाले हाम्रो सीमामा केही सहयोग गरिरहेको छ, तर त्यो पर्याप्त छैन । मेक्सिकोबाट आउने लागूपदार्थ रोक्न नसकेका कारण हामीलाई शुल्क लगाउन बाध्य बनाएको हो ।’
ट्रम्पका अनुसार, अब अमेरिकामा पठाइने मेक्सिकन उत्पादनहरूमा ३० प्रतिशत छुट्टै शुल्क लागू हुनेछ, जुन अन्य क्षेत्रगत शुल्कभन्दा अलग हुनेछ ।
त्यस्तै, युरोपेली संघलाई लेखिएको पत्रमा उनले भनेका छन्, ‘ईयूका उत्पादनहरूमा पनि ३० प्रतिशत आयात शुल्क लागू गरिनेछ, जुन अन्य क्षेत्रगत शुल्कभन्दा अलग हुनेछ । उच्च शुल्क छल्न पुनःनिर्यात गरिएका सामानमा समेत त्यही दर लागू हुनेछ ।’
ट्रम्पले भनेका छन्, ‘३० प्रतिशत शुल्कले अमेरिका र युरोपबीचको व्यापार घाटा पूर्ति गर्न पर्याप्त नहुन सक्छ, तर यो शुरूका लागि लिएको कदम हो ।’
तर, उनले अमेरिकाभित्रै उत्पादन गर्ने ईयूका कम्पनीलाई कर छुट दिइने स्पष्ट पारेका छन् । ‘यदि ईयू वा त्यहाँका कम्पनीहरूले अमेरिकाभित्रै उत्पादन गर्ने निर्णय गरे भने उनीहरूलाई कुनै शुल्क लाग्दैन, बरु अनुमतिका प्रक्रिया छिटो, व्यवस्थित र सहज गरिन्छ’, ट्रम्पले लेखेका छन्।
यो घोषणाले आगामी अमेरिकी व्यापार नीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा विश्लेषकहरूले चासो व्यक्त गरेका छन् ।