
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेस स्वर्ग र नर्कको गोलचक्करको पासोमा परेको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सत्तासाझेदार दल कांग्रेसले स्वर्ग र नर्कको गोलचक्करको पासोमा समर्पित भएको टिप्पणी गरेका हुन् ।
‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस । एकपछि अर्को स्वेच्छाचारिता श्रृंखलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ,’ उनले भने ।
गत वर्ष असार १८ गते बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई स्वर्ग गए पनि नर्क गए पनि सँगसँगै जाने भनेर भनेको अभिव्यक्ति सार्वजनिक भएको थियो ।