
बेलायतको लर्ड्समा भएको पाँच खेलको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले २२ रनले खेल जितेको हो ।
जीतसँगै इङ्ग्ल्यान्डले भारत विरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो ।
इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनाएको थियो । इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे ।
भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनाएको थियोयो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।
दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पाएको भारत १७० रनमै अलआउट भयो ।
भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे । राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।
खेलको पाँचौं दिन भारतले ६ विकेट बाँकी रहँदा १३५ रन बनाउनुपर्ने थियो । टोलीले ११२ रन मात्रै बनाउँदा सबै विकेट गुमायो ।
इङ्ल्यान्डका बेन स्टोक्स प्लेयर अफ द म्याच भए ।
खेलपछि भारतका कप्तान शुभमन गिलले भने, 'म यो टोलीमा गर्व गर्छु। हाम्रो टोलीले उत्कृष्ट खेल्यो। इङ्ल्यान्डले भारतीय ब्याट्सम्यानहरूविरुद्ध आक्रामक मनोवृत्ति देखायो। यदि शुरूमा पचास रनको साझेदारी भएको भए, हाम्रो लागि चीजहरू सजिलो हुन सक्थ्यो ।'
दुई टोलीबीचको शृङ्खलाको चौथो टेस्ट जुलाई २३ बाट म्यानचेस्टरमा शुरू हुनेछ।