
स्पेनमा भएको संयुक्त राष्ट्र संघीय सम्मेलनमा भिजिट भिसामा गएर नफर्किएका नेपालीबारे छानबिन गर्न प्रहरीले समिति बनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय समिति बनाइएको हो ।
समितिमा सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोका अधिकारीहरू छन् । ब्यूरोबाट एसपी रूगम कुँवर लगायतका अधिकारी छन् ।
सार्वजनिक भएका विवरणबारे जाँच गर्न सीआईबी र ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको सीआईबीले जनाएको छ ।
सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आईजीपी दीपक थापालाई यस प्रकरणको छानबिन गर्न निर्देशन दिएका थिए । गृहमन्त्रीले निर्देशन दिएको भोलिपल्टै समिति बनाइएको हो ।
स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी गराउने, त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्ति विदेश पठाएको हुनसक्ने देखिएपछि छानबिनका लागि समिति नै बनाइएको हो ।