
काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित खेल मैदानको बोर्डमा तीर हान्ने अभ्यासका क्रममा एक जना घाइते भएका छन् ।
मंगलबार करिब ३ बजेतिर काठमाडौं–१६, माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा तीर हानेका थिए ।
तर, त्यो तीर बोर्डतिर नगएर मनमैजु बस्ने ४१ वर्षीय हरिप्रसाद घर्तीलाई लागेको थियो । उनी घाइते भएलगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
उनको घाँटीको दाहिने भागमा तीर गाडिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार तीर हान्ने छन्त्याल बालाजु प्रहरीको नियन्त्रणमा छन् ।