०५ साउन २०८३, मंगलबार

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल डेढ घण्टा ढिलो, खेल अभ्यास मैदानमा खेलाइने

असार ३१, २०८२
काठमाडौं
वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल डेढ घण्टा ढिलो, खेल अभ्यास मैदानमा खेलाइने

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत मंगलबार खेलिने भनिएको नेपाल र श्रीलंकाबीचको खेल निर्धारित समयभन्दा डेढ घण्टा ढिलो शुरू हुने भएको छ । अब खेल राति २०:१५ बजे शुरू हुने बताइएको छ ।

ढाकामा भिषण वर्षाका कारण रंगशाला खेलका लागि उपयुक्त नभएको बताइएको छ । म्याच कमिश्नरले पनि रंगशाला खेलका लागि उपयुक्त नरहेको घोषणा गरेका छन् । खेल ढाकाको बसुन्धरा किङ्स एरिनामा हुने कार्यक्रम थियो ।

अब नेपाल र श्रीलंकाबीचको खेल बसुन्धरा किङ्स एरिनाको अभ्यास मैदानमा खेलाइने बताइएको छ । जारी प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो । नेपालले यसअघि खेलिएको दुईमध्ये एक खेलमा जीत र एक खेलमा हारको नतिजा निकालेको छ ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोकलो फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा भने तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग २–३ गोलले पराजित भएको थियो ।

प्रतियोगितामा चार टोली सहभागी छन् । चारवटै टोलीलाई एउटै समूहमा राखिएको छ । सहभागी सबै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार श्रीलंकासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल शनिबार भुटानसँग खेल्नेछ । त्यसपछि आगामी सोमबार नेपाली टोलीले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्