![नागढुंगा सुरुङमार्गका लागि जापानी येन ५ अर्ब ७० करोड ऋण स्वीकार [यी हुन् मन्त्रिपरिषद्का निर्णय]](https://lktcdn2.prixacdn.net/media/Cabinet_2082-03-13_4c9OnIgAOJ.jpg)
सरकारले नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यही असार ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले असार २३ र ३० गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गरेका हुन् ।
बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ । यस्तै, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको छ ।
मन्त्रिपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीको सरुवा गर्ने निर्णय समेत गरेको मन्त्री गुरुङले जानकारी दिए ।
यस्तै, प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने, नेपाल राष्ट्र बैंकबाट एक हजार रूपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१/०८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिए ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णय :